कुवेतमा अत्यधिक गर्मीका कारण लागू गरिएको दिउँसो बाहिरी क्षेत्रमा काम गर्न नपाइने नियम प्रभावकारी रूपमा कार्यान्वयन भएको पाइएको छ। कुवेतको सार्वजनिक जनशक्ति प्राधिकरण (Public Authority for Manpower–PAM) ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म गरिएको ३५६ वटा स्थलगत अनुगमनमा कुनै पनि कम्पनीले गर्मीसम्बन्धी श्रम सुरक्षा नियम उल्लङ्घन गरेको भेटिएको छैन।
कुवेतमा प्रत्येक वर्ष जुन १ देखि अगस्ट ३१ सम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खुला स्थानमा श्रमिकलाई काममा लगाउन प्रतिबन्ध लगाइन्छ। अत्यधिक तापक्रमका कारण श्रमिकको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले यो व्यवस्था लागू गरिएको हो।
पब्लिक अथोरिटी फर म्यानपावरका अनुसार हालसम्म निरीक्षण टोलीले ३५६ वटा कार्यस्थलको अनुगमन गरी ३७३ जना श्रमिकको अवस्था जाँच गरेको छ। यस अवधिमा २५ वटा उजुरी प्राप्त भएका थिए। उजुरीपछि ५६ वटा निरीक्षण तथा पुनः निरीक्षण गरिएको थियो भने ६७ वटा सचेतनामूलक निर्देशन जारी गरिएको थियो। नियमबाट छुट माग गर्दै आएका ६ वटा आवेदन स्वीकृत गरिएको पनि प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार हालसम्म कुनै पनि रोजगारदाताले नियम उल्लङ्घन नगरेको तथ्यले श्रमिक सुरक्षाप्रति कम्पनीहरूको जिम्मेवारी र सरकारी अनुगमन दुवै प्रभावकारी रहेको देखाएको छ। गर्मीका कारण हुने स्वास्थ्य जोखिम न्यूनीकरण, सुरक्षित कार्य वातावरण निर्माण तथा श्रमिकको जीवन र स्वास्थ्यको संरक्षण नै यो व्यवस्थाको मुख्य उद्देश्य रहेको प्राधिकरणले स्पष्ट पारेको छ।
कुवेत नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगार गन्तव्यमध्ये एक हो। विशेषगरी निर्माण, पूर्वाधार, औद्योगिक तथा खुला क्षेत्रमा कार्यरत हजारौं नेपाली श्रमिक प्रत्यक्ष रूपमा यो नियमबाट लाभान्वित हुनेछन्। गर्मीको समयमा दिउँसो बाहिर काम गराउन नपाइने व्यवस्था कार्यान्वयन हुँदा तापघात, डिहाइड्रेसन तथा अन्य गर्मीजन्य स्वास्थ्य समस्याको जोखिम कम हुने अपेक्षा गरिएको छ।
पब्लिक अथोरिटी फर म्यानपावरले नागरिक तथा श्रमिकलाई नियम उल्लङ्घन भएको देखिए तत्काल सम्बन्धित निकायमा जानकारी गराउन पनि आग्रह गरेको छ। साथै, गर्मीको समयमा श्रमिकको सुरक्षा सुनिश्चित गर्न आगामी दिनमा पनि नियमित अनुगमन, सचेतना र कानुनी कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।