बेलायतले आप्रवासन सम्बन्धी हालका नीतिहरूमा थप कडाइ गर्ने भएको छ ।
आप्रवासन सम्बन्धी श्वेतपत्र संसद्मा टेबल गर्नुअघि प्रधानमन्त्री केयर स्टारमरले कडा आप्रवासन नीतिहरू घोषणा गरेका हुन् । जस अन्तर्गत आगामी ५ वर्षमा आप्रवासनलाई उल्लेखनीय रूपमा घटाउने लक्ष्य राखिएको छ। स्टारमरका अनुसार अब बेलायतको नागरिकता पाउन हालको ५ वर्षे मापदण्डलाई १० वर्ष पुर्याइने छ । अर्थात्, अब कुनै पनि आप्रवासीले बेलायतको नागरिकताका लागि आवेदन दिन कम्तीमा १० वर्ष बेलायत बसेको मापदण्ड पुरा गर्नुपर्ने छ ।
यसबाहेक, रोजगारी, परिवार र अध्ययनसँग जोडिएर आउने सबै आप्रवासन सम्बन्धी मापदण्डमा थप कडाइ गरिने भएको छ । जस अन्तर्गत विदेशी कामदारलाई रोजगार अनुमतिमा निरुत्साहित गर्न स्किल लेभल र तलबको थ्रेसहोल्ड समेत बढाइने छ ।
विद्यार्थीका हकमा अब ग्र्याजुएट भिसाको अवधि समेत २४ महिनाबाट घटाएर १८ महिनामा झार्ने योजना छ । अन्तर्राष्ट्रिय विद्यार्थीले तिर्ने शिक्षाबापतको शुल्कमा ६ प्रतिशत लेभी लाग्ने प्रस्ताव गरिएको छ ।
यस्तै, बेलायतमा हुनेले आफ्नो परिवार ल्याउन थप कठिने हुने भएको छ । अब आफ्नो परिवारका सदस्य बेलायत ल्याउन आम्दानी र भाषा टेस्टको मापदण्ड अभिवृद्धि हुने छ ।
बेलायतमा पछिल्ला वर्षहरूमा आप्रवासी विरोधी मत बढ्दै गएको छ । जसले गर्दा सरकारमाथि आप्रवासन सम्बन्धी व्यवस्थामा कडाइ गर्न व्यापक दबाब रहँदै आएको छ ।
यसै पृष्ठभूमिमा सरकारको पछिल्लो योजना आएको हो । यद्यपि, यो योजना कहिलेबाट कार्यान्वयनमा जानेछ भन्ने स्पष्ट छैन ।