कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा ९३० पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिबारसम्म देशभर दुई हजार ३४४ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्र ३७ जनाको मृत्यु भएको छ, जुन एकै दिनमा भएको उच्च मृत्युमध्ये एक हो ।
पूर्वी कङ्गोमा गत मे १५ मा घोषणा गरिएको यो इबोला प्रकोप हालसम्मकै तीव्रगतिमा फैलिएको प्रकोप भएको अधिकारीले बताएका छन् । यसपटक फैलिएको ‘बुन्डिबुग्यो’ प्रजातिको इबोला भाइरस अन्य प्रकारको तुलनामा कम देखिने भए पनि यसविरुद्ध हालसम्म स्वीकृत खोप वा उपचार विधि उपलब्ध छैन ।
सबैभन्दा बढी प्रभावित इतुरी प्रान्तमा सुरक्षा चुनौतीका कारण रोग नियन्त्रण तथा उपचारका प्रयास प्रभावित भइरहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार प्रकोप घोषणा भएयता स्वास्थ्य केन्द्र र उपचार टोलीमाथि कम्तीमा १२ वटा आक्रमण भएका छन् । यसैबिच तलब नपाएको विरोधमा केही स्वास्थ्यकर्मीले काम छाडेका छन् । भाइरस सङ्क्रमणका कारण कम्तीमा ३६ जना स्वास्थ्यकर्मीको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हाल ७२४ जना सङ्क्रमित आइसोलेसन तथा अस्पतालमा उपचाररत छन् । प्रभावित क्षेत्रमा रोग नियन्त्रण, सङ्क्रमितको उपचार र निगरानीका प्रयासलाई तीव्र पारिएको जनाइएको छ।