पूर्वी अफगानिस्तानमा सोमबार परेको भीषण वर्षापछि आएको आकस्मिक बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ । यस घटनामा सयभन्दा बढी व्यक्ति बेपत्ता भएको तालिबान सरकारले पुष्टि गरेको हो । नुरिस्तान प्रान्तको राजधानी पारुन सबैभन्दा बढी प्रभावित भएको बताइएको छ । शहरका मेयरसमेत बेपत्ता भएका छन् भने ८० भन्दा बढी स्थानीय बासिन्दा घाइते भएका छन् ।
तालिबान अधिकारीहरूले यस घटनाबाट मानवीय तथा आर्थिक दुवै क्षेत्रमा ठुलो क्षति हुने अनुमान गरेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा घर, पसल तथा नगरपालिकाका भवनहरू गम्भीर रूपमा क्षतिग्रस्त भएको देखिन्छ । अफगानिस्तान जलवायु परिवर्तन र प्राकृतिक विपद्को चरम असर झेल्ने विश्वकै सबैभन्दा जोखिमयुक्त देशहरूमध्ये एक हो । यो वर्षेनी आँधी, बाढी तथा खडेरीको चपेटामा पर्ने गरेको छ ।
स्थानीय गैरसरकारी संस्था श्पोलका प्रमुख आशिकुल्लाह सफीका अनुसार हालैको बाढीले पारुन नगरपालिकाको भवन पूर्ण रूपमा ध्वस्त पारेको छ । उनका अनुसार उद्धार उपकरणको अभावका बीच स्थानीय बासिन्दाहरू आफैँ भग्नावशेषमा हराइरहेका मानिसहरूको खोजी गरिरहेका छन्। बाढीले ठुलो परिमाणमा ढुंगाहरू शहरभरि बगाएर ल्याएको छ, जसले उद्धार कार्यलाई थप कठिन बनाएको छ ।
तालिबानको मौसम विभागले आगामी बुधबारसम्म अफगानिस्तानका ३४ मध्ये १० वटा प्रान्तमा भारी वर्षा र थप बाढी आउन सक्ने चेतावनी दिएको छ । अधिकारीहरूले नदी किनार तथा बाढीको उच्च जोखिम भएका क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेका छन् । यसअघि गत अप्रिलमा उत्तरी अफगानिस्तानमा आएको भीषण वर्षा र बाढीका कारण कम्तीमा १५० जनाको मृत्यु भएको थियो । तर, विश्व खाद्य कार्यक्रमले मृतकको संख्या ३०० भन्दा बढी पुगेको जनाएको थियो ।