माग सम्बोधन नभए वैदेशिक रोजगार व्यवसायी संघ आन्दोलनमा उत्रिने

आप्रवासन आप्रवासन

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रमा देखिएका नीतिगत तथा व्यवस्थागत समस्याको तत्काल समाधान नभए दबाबमूलक आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ। आन्दोलनको तयारीस्वरूप संघले आगामी १० दिनभित्र वैदेशिक रोजगार प्रक्रियाको अन्तिम चरणमा रहेका सबै श्रमिकलाई गन्तव्य मुलुक पठाइसक्न सदस्य म्यानपावर कम्पनीहरूलाई आह्वान गरेको छ।

सोमबार बसेको संघका पदाधिकारीहरूको बैठकले वर्तमान कानुनी व्यवस्था र सरकारी नीतिका कारण व्यवसाय सञ्चालन झन् जटिल बन्दै गएको निष्कर्ष निकाल्दै आन्दोलनको तयारी गर्ने निर्णय गरेको हो। संघका अनुसार सरकारले तोकेको १० हजार रुपैयाँ सेवा शुल्कसहित पुरानै ऐन, नियम र व्यवस्थाभित्र रहेर व्यवसाय सञ्चालन गर्न व्यवहारिक कठिनाइ उत्पन्न भएको छ।

संघले २०७२ सालदेखि लागू गरिएको ‘फ्रि भिसा, फ्रि टिकट’ व्यवस्था पुनरावलोकन गर्नुपर्ने माग दोहोर्याउँदै रोजगारदाताले सेवा शुल्क नदिएको अवस्थामा कम्तीमा कामदारको एक महिनाको तलब बराबरको सेवा शुल्क निर्धारण गर्नुपर्ने माग अझै सम्बोधन नभएको जनाएको छ। साथै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतका बेला भारतीय विमानस्थल प्रयोग गरेर श्रमिक पठाएका ५ सय ९८ म्यानपावर कम्पनीमाथिको कारबाही र साउदी स्किल भेरिफिकेसनका नाममा श्रमिकबाट थप ५० अमेरिकी डलर असुली भइरहेको विषयप्रति पनि असन्तुष्टि जनाएको छ।

संघले यसअघि युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र मन्त्रालयका सचिव डा. दीपक काफ्ले समक्ष सेवा शुल्क पुनर्निर्धारणसहित विभिन्न नीतिगत सुधारको माग राख्दै समाधान नभए श्रमिक पठाउने प्रक्रिया नै प्रभावित हुन सक्ने जानकारी गराएको थियो। मन्त्रालयले समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिए पनि हालसम्म ठोस प्रगति नभएको संघको आरोप छ।

संघले वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधन, वैज्ञानिक र व्यवहारिक सेवा शुल्क निर्धारण, श्रमिकको वास्तविक लागत खर्चको मापदण्ड तयार गर्ने, एकाधिकारको अन्त्य, हवाई भाडादर समायोजन, बिना धितो वा सहुलियतपूर्ण कर्जाको प्रभावकारी कार्यान्वयन तथा क्यासलेस डिजिटल कारोबार प्रणाली लागू गर्नुपर्ने माग दोहोर्याएको छ।

संघका अनुसार सम्बन्धित निकायसँग निरन्तर संवाद र पहल भइरहे पनि सरकारी पक्षबाट आवश्यक तत्परता नदेखिएकाले अब आफ्ना माग सम्बोधन गराउन निर्णायक दबाबमूलक आन्दोलन अघि बढाउनु पर्ने अवस्था आएको छ। तत्कालका लागि अन्तिम चरणमा रहेका सबै श्रमिकलाई निर्धारित समयभित्र विदेश पठाउन आग्रह गर्दै त्यसपछि आवश्यक परे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने संकेत पनि संघले दिएको छ।