युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव ले वैदेशिक रोजगार विभागको आकस्मिक अनुगमन गरेका छन्। आज बिहान कार्यालय समय सुरु भएलगत्तै विभाग पुगेका मन्त्री यादवले विभागको सेवा प्रवाह, प्रशासनिक कामकारबाही तथा सेवाग्राहीले भोगिरहेका समस्याबारे जानकारी लिएका हुन्।
अनुगमनका क्रममा विभागकी महानिर्देशक मिरा आचार्य ले विभागको वर्तमान कार्यसम्पादन, सेवा प्रवाह र वैदेशिक रोजगारसम्बन्धी गतिविधिबारे मन्त्री यादवलाई जानकारी गराएकी थिइन्।
त्यसपछि मन्त्री यादवले विभागका विभिन्न शाखामा पुगेर कर्मचारीसँग कार्यप्रगतिको जानकारी लिनुका साथै सेवाग्राही तथा पीडितसँग प्रत्यक्ष संवाद गरेका थिए। सो क्रममा केही पीडितहरूले वैदेशिक रोजगार ठगीका मुद्दामा पक्राउ पुर्जी जारी भएका व्यक्तिहरू खुलेआम हिँडडुल गरिरहे पनि सम्बन्धित जिल्लाका प्रहरी कार्यालयले पक्राउ नगरेको गुनासो गरेका थिए।
गुनासो सुनेपछि मन्त्री यादवले त्यस्ता फरार व्यक्तिलाई तत्काल पक्राउ गरी विभागमा उपस्थित गराउन सम्बन्धित जिल्लाका प्रहरीसँग आवश्यक समन्वय गर्न विभागका कर्मचारीलाई निर्देशन दिएका छन्।
मन्त्री यादवले वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या समाधान, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा पीडितले समयमै न्याय पाउने वातावरण सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको समेत बताएका छन्।