अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य

आप्रवासन आप्रवासन

 

 अमेरिका र इरानबिच युद्धविराम गराउने कूटनीतिक प्रयास अघि बढेपछि अन्तर्राष्ट्रिय बजारमा मंगलबार कच्चा तेलको मूल्य घटेको छ । 

यद्यपि दुवै देशबिच नयाँ आक्रमण जारी रहनुका साथै यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियामाथि समुद्री नाकाबन्दी गर्ने चेतावनी दिएपछि बजारमा अनिश्चितता भने कायम रहेको छ ।  मंगलबार बिहान ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९६ सेन्टले घटेर ८८ डलर २६ सेन्टमा पुगेको छ । यो अघिल्लो दिन बजार बन्द हुँदा खेरिको तुलनामा १ दशमलव १ प्रतिशत कम हो ।

त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) क्रुडको मूल्य ७३ सेन्ट अर्थात् ०.९ प्रतिशतले घटेर ८२ डलर ५० सेन्ट प्रतिब्यारेलमा झरेको छ । बजारमा मूल्य घट्नुको मुख्य कारण अमेरिका र इरानबिच तनाव कम हुने आशा बढ्नु हो । विश्लेषकहरूका अनुसार मध्यस्थकर्ताहरूले दुवै पक्षलाई १० दिनको युद्धविराम प्रस्ताव गरेका छन् । यदि यो प्रस्ताव सफल भयो भने जुन महिनामा भएको अन्तरिम समझदारीलाई पुनः कार्यान्वयन गर्ने बाटो खुल्न सक्छ ।

इरानका एक वरिष्ठ अधिकारीले पनि तेहरानले मध्यस्थकर्ताबाट १० दिने युद्ध विरामको प्रस्ताव प्राप्त गरेको पुष्टि गरेका छन् । यो प्रस्ताव फेब्रुअरी २८ देखि जारी अमेरिका–इजरायल र इरानबीचको युद्ध अन्त्यका लागि दीर्घकालीन सम्झौताको आधार तयार गर्ने उद्देश्यले ल्याइएको बताइएको छ । कूटनीतिक प्रयास भइरहे पनि सोमबार राति अमेरिकाले इरानका विभिन्न सहरमा फेरि आक्रमण गरेको जनाएको छ ।

त्यसको जवाफमा इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स कप्र्स (आईआरजीसी)ले पनि क्षेत्रका अमेरिकी सैन्य लक्ष्यहरूमा आक्रमण गरेको जनाएको छ । पछि अमेरिकी केन्द्रीय कमाण्डले इरानमाथि थप सैन्य कारबाही सुरु भएको पुष्टि गरेको छ । बेलायतको समुद्री व्यापार सञ्चालन केन्द्रका अनुसार स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गरिरहेको एउटा तेल ट्यांकरमा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको छ ।

घटनापछि जहाजका चालकदलले जहाज छाडेर लाइफबोटमा आश्रय लिएका छन् । अमेरिका–इरानबीचको तनावका कारण स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने जहाजको संख्या पनि घट्दै गएको बताइएको छ । यमनका इरान समर्थित हुथी विद्रोहीहरूले सोमबार साउदी अरबमाथि समुद्री नाकाबन्दी लागू गर्ने घोषणा गरेका छन् । 

विश्लेषकहरूका अनुसार यदि यस्तो भयो भने विश्वकै प्रमुख तेल निर्यातकर्ता साउदी अरेबियाको तेल आपूर्ति प्रभावित हुन सक्छ, जसले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा थप जोखिम सिर्जना गर्नेछ ।