अमेरिकी आक्रमण जारी रहेसम्म स्ट्रेट अफ होर्मुज नखुल्ने इरानको चेतावनी

आप्रवासन आप्रवासन

 

 इरानले अमेरिकाले आफ्नो भूमिमाथि सैन्य आक्रमण जारी राखेसम्म रणनीतिक महत्त्वको स्ट्रेट अफ होर्मुज नखुल्ने चेतावनी दिएको छ ।

इरानी सैन्य अधिकारीहरूलाई उद्धृत गर्दै सरकारी तथा अर्धसरकारी सञ्चारमाध्यमहरूले सुरक्षा अवस्था नबदलिएकाले जहाज आवागमनमा लगाइएका प्रतिबन्ध कायम रहने बताएका छन् ।

इरानका अनुसार जलडमरू पुनः खोल्ने वा प्रतिबन्ध कायम राख्ने निर्णय पूर्ण रूपमा सुरक्षा अवस्था र राष्ट्रिय हितका आधारमा हुनेछ । अमेरिकी सैन्य कारबाही नरोकिएसम्म जहाजलाई आवागमन अनुमति नदिइने इरानको अडान छ ।

यता अमेरिकाले भने इरानले अन्तर्राष्ट्रिय जलमार्ग नियन्त्रण गर्न नसक्ने दाबी गर्दै इरानी सैन्य पूर्वाधारमाथि थप हवाई आक्रमण जारी राखेको जनाएको छ । पछिल्ला दिनहरूमा दुवै पक्षबिच सैन्य तनाव झन् बढ्दै गएको छ । 

यसैबिच होर्मुज क्षेत्रमा व्यावसायिक जहाजमाथि आक्रमणका घटनाहरू दोहोरिन थालेका छन् । जहाज ट्र्याकिङ तथ्याङ्कअनुसार जलडमरूमार्फत हुने जहाज आवागमन उल्लेखनीय रूपमा घटेको छ, जसले विश्व ऊर्जा आपूर्तिमा थप अनिश्चितता सिर्जना गरेको छ ।

होर्मुज जलडमरू विश्वको सबैभन्दा महत्त्वपूर्ण समुद्री तेल मार्गमध्ये एक मानिन्छ । विश्वको ठूलो परिमाणमा निर्यात हुने कच्चा तेल र प्राकृतिक ग्यास यही मार्ग हुँदै ओसारपसार हुने भएकाले यहाँको तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजार र तेलको मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने विश्लेषण गरिएको छ ।