क्यानडामा रेकर्ड सङ्ख्यामा असाइलम निवेदन परेको छ । सन् २०२४ मा २० हजार २४५ अन्तर्राष्ट्रिय विद्यार्थीहरूले असाइलमका लागि निवेदन दिएको इमिग्रेसन, रेफयुजिज एन्ड सिजिजनसिप क्यानडालाई उद्धृत गर्दै क्यानडेली पत्रिका ग्लोबल न्युजले जनाएको हो । यो सन् २०२३ को दाँजोमा झन्डै दोब्बर र सन् २०१९ को तुलनामा ६ गुणाले बढी हो ।
अझ सन् २०२५ को पहिलो ३ महिनाको तथ्याङ्कले यस वर्ष अझ धेरै असाइलम निवेदन पर्ने सङ्केत गरेको छ । गत जनवरी, फेब्रुअरी र मार्चमा गरी कुल ५ हजार ५ सय असाइलम निवेदन परेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले बढी हो ।
क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या कटौती गर्दै पिआर दिन थप कडाइ गरिरहेको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई क्यानडामा बसिरहन पर्मिट आवश्यक हुन्छ । तर पर्मिट पाउन क्यानडाले कठिन बनाएपछि विद्यार्थीहरूले असाइलमको निवेदन दिन थालेका हुन् ।
आफ्नो गृह देशमा युद्ध, हिंसा, राजनीतिक अस्थिरता जस्ता कारणले गर्दा आफू असुरक्षित रहेको भन्ने आधार पेस गरेर अन्तर्राष्ट्रिय विद्यार्थीहरूले तेस्रो देशमा शरणका लागि निवेदन दिन सक्छन् । प्रस्तुत आधार हेरेर सम्बन्धित देशले विद्यार्थीलाई असाइलम दिन सक्छ ।