अध्यागमन विभागको हिरासतमा थुनामा रहेका चिनियाँ नागरिकहरूलाई ‘छुटाइदिन्छौं’ भनेर पूर्वएसएसपी सहितको समूहले ठगी गरेको भेटिएको छ।
असार १२ मा ललितपुरको सानेपाबाट पक्राउ परेर विभागको हिरासतमा थुनामा रहेका ९ जना चिनियाँ नागरिकलाई छुटाउने आश्वासन दिएर आरोपीहरूले रकम असुल गरेका हुन्।
ठगीमा संलग्न आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरको कटारी घर भएर ललितपुर बस्ने ३८ वर्षीय बिक्रम बहादुर थापा, पश्चिम नवलपरासी घर भएर ललितपुर बस्ने ५९ वर्षीय गोपाल कुमार गुरुङ र सर्लाही घर भएर काठमाडौँ बस्ने ५२ वर्षीय नारद प्रसाद खतिवडा छन्। आरोपीहरूले चिनियाँ नागरिक र अध्यागमनले बरामद गरेको १५ थान राहदानी समेत निकालिदिने भन्दै चिनियाँ नागरिकहरूसँग साझेदार नेपालीसँग ९ लाख रकम लिएका हुन्।
आरोपीहरूले चिनियाँ नागरिक छुटाउने र राहदानी पनि फिर्ता दिलाउँछौ भनेर ७२ लाख रुपैयाँ लेनदेन गर्ने गरी मोलमोलाइ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रामेश्वर कार्कीले रातोपाटीलाई बताए । अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई साउन ४ मा काठमाडौँ उपत्यकाबाट पक्राउ गरेको हो। ठगीमा संलग्न आरोपमा पक्राउ परेका गोपाल बहादुर गुरुङ सशस्त्र प्रहरीका पूर्व एसएसपी हुन् । २०५८ मा प्रहरीको नायव निरीक्षकबाट स्थानान्तरण भएर उनी सशस्त्रमा गएका थिए।
उनी एसएसपी भएर अवकाशमा गएको पाइएको छ । पक्राउ परेका अर्का आरोपी नारद प्रसाद खतिवडा कलाकार हुन् । बिक्रम बहादुर थापा १२ लाख २५ हजारको बैंकिङ्ग कसुर मुद्दामा पनि फरार देखिएका छन् । आरोपीहरूमाथि थप अनुसन्धान र कारबाहीका लागी अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ । काठमाडौँ प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।