अमेरिकाले इरानमाथि जारी सैन्य कारबाहीलाई थप तीव्र बनाउँदै पहिलो पटक बी–१ लामो दूरीको रणनीतिक बमवर्षक विमान प्रयोग गरेको समाचार सार्वजनिक भएको छ । इजरायली सञ्चारमाध्यम जेरुसेलम पोस्टले एक्सियोसलाई उद्धृत गर्दै जनाएअनुसार यो कदम १२ दिनअघि पुनः सुरु भएको अमेरिका–इरान द्वन्द्वयताको सबैभन्दा ठुलो सैन्य विस्तारमध्ये एक मानिएको छ ।
अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार बी–१ बमवर्षकले बेलायतस्थित अमेरिकी सैन्य अड्डाबाट आफ्नो अभियान सुरु गरेको थियो । विमानको उडान मार्ग सार्वजनिक विमान ट्र्याकिङ वेबसाइटहरूमा देखिएको भए पनि त्यसले इरानभित्र कुन लक्ष्यमा आक्रमण गर्यो भन्ने विषय आधिकारिक रूपमा खुलाइएको छैन ।
बी–१ ल्यान्सर अमेरिकी वायुसेनाको लामो दूरीसम्म उडान भरेर ठुलो मात्रामा परम्परागत बम बोक्न सक्ने शक्तिशाली रणनीतिक बमवर्षक विमान हो । यसको प्रयोगले अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई अझ उच्च स्तरमा पुर्याएको विश्लेषण गरिएको छ ।
यद्यपि, अमेरिकी सेनाको केन्द्रीय कमान्ड सेन्टकमले रातभर सञ्चालन गरिएका हवाई आक्रमणबारे जारी गरेको आधिकारिक वक्तव्यमा बी–१ बमवर्षकको प्रयोगबारे कुनै उल्लेख गरेको छैन । हालसम्म अमेरिकी रक्षा मन्त्रालयले पनि उक्त विमानले कुन स्थानमा आक्रमण गर्यो वा अभियानको उद्देश्य के थियो भन्नेबारे थप विवरण सार्वजनिक गरेको छैन ।