युद्ध बिराम भए थप बन्दी रिहा गर्न हमास तयार देखिएको छ ।
गाजामा युद्ध बिराम गर्ने बारे इजरायल र हमासबिच कतारमा जारी वार्तामा थप बन्दी रिहा गर्ने प्रस्ताव हमासले गरेको हो । वार्तामा हमासले ६० दिनको युद्ध विराम गर्दा इजरायलले प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने सर्तमा ९ जना बन्धकलाई रिहा गर्न सहमति जनाएको बीबीसीले उल्लेख गरेको छ ।
यस्तै प्रस्तावित सम्झौतामा प्रत्येक दिन ४०० वटा सहायता बोकेका ट्रकलाई प्रवेश दिइने र बिरामीलाई गाजाबाट बाहिर निकाल्न अनुमति दिइनेछ ।
इजरायलले सो प्रस्तावमा सार्वजनिक प्रतिक्रिया दिइसकेको छैन । यद्यपि, इजरायलले सबै जीवित बन्धकहरूको बारेमा विस्तृत जानकारी माग गरेको छ ।
हमासको कब्जामा नेपाली विद्यार्थी विपिन जोशी समेत छन् । तर विपिनको अवस्था के छ भन्ने कुरा अज्ञात छ । २ महिनाअघि इजरायल र हमासबिच युद्ध बिराम भई बन्दीहरूको आदानप्रदान भएको थियो ।
सो क्रममा विपिन समेत छुट्ने आशा थियो । तर युद्ध बिराम अलपत्र पर्यो र मार्च १८ मा इजरायलले गाजामाथि पुनः आक्रमण थाल्यो । जसबाट हालसम्म हजारौँको मृत्यु भइसकेको छ भने विपिनको रिहाइ अनिश्चित बनेको छ ।