अक्टोबर १० मा दिल्लीमा आन्दोलन गर्ने सीजेपीको घोषणा

आप्रवासन आप्रवासन

भारतको युवा राजनीतिक समूह कक्रोज जनता पार्टी (सीजेपी) ले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले राजीनामा नदिए अक्टोबर १० मा राजधानी नयाँ दिल्लीस्थित जन्तरमन्तरमा प्रदर्शन गर्ने घोषणा गरेको छ । पार्टीले मतदाता नामावली संशोधन प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगको काम कारबाहीमाथि प्रश्न उठाएको छ । 

सीजेपीका राष्ट्रिय संयोजक अभिजित दिप्केले देशभरका समर्थकलाई दिल्लीमा भेला भएर शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्  । उनले निर्वाचनमा निष्पक्षता र पारदर्शिता कायम गर्नुपर्ने भन्दै मुख्य निर्वाचन आयुक्तको राजीनामा आफ्नो प्रमुख माग भएको बताएका छन् ।

दिप्केका अनुसार ज्ञानेश कुमारले पदबाट राजीनामा नदिए देशका विभिन्न भागबाट समर्थकहरू दिल्ली पुग्नेछन् । प्रहरीले प्रदर्शन रोक्ने प्रयास गरे जहाँ रोक्छ, त्यही ठाउँलाई प्रदर्शनस्थल बनाउने चेतावनी समेत उनले दिएका छन् । उनले महात्मा गान्धीको अहिंसात्मक आन्दोलनको बाटो अपनाउने बताएका छन् । 

मतदाता नामावली संशोधन विवाद के हो ?

भारतको निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न विशेष सघन पुनरावलोकन (स्पेसल इन्टेन्सिभ रिभिजन—एसआईआर) प्रक्रिया अघि बढाएको छ । आयोगका अनुसार यस प्रक्रियाको उद्देश्य दोहोरो नाम, मृत्यु भएका व्यक्ति तथा मतदाता बन्न अयोग्य व्यक्तिका नाम हटाउनु र योग्य मतदाताको विवरण अद्यावधिक गर्नु हो ।

तर, विपक्षी दल तथा आन्दोलनकारीहरूले यस प्रक्रियाबाट ठुलो सङ्ख्यामा योग्य मतदाताको नाम हटाइएको र यसले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)लाई चुनावी लाभ पुर्‍याउन सक्ने आरोप लगाएका छन् । निर्वाचन आयोग र सरकारले भने अनियमितताको आरोप अस्वीकार गर्दै आएका छन् । 

भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसले निर्वाचन आयोगका तीन आयुक्तमध्ये दुई जनाले मतदाता नामावली संशोधन, दर्ता प्रक्रिया र आयोगको डिजिटल प्रणालीसम्बन्धी निर्णयमा पटक पटक आपत्ति जनाएको रिपोर्ट प्रकाशित गरेपछि विवाद थप चर्किएको हो । निर्वाचन आयोगले भने आन्तरिक छलफलमा फरक मत आउनु सामान्य भएको बताएको छ । 

सीजेपीले एसआईआर प्रक्रिया तत्काल रोक्न, सन् २०२५ जनवरीको मतदाता नामावली पुनः लागू गर्न र निर्वाचन आयुक्त नियुक्तिसम्बन्धी सन् २०२३ को कानुन खारेज गर्न पनि माग गरेको छ । उसले नागरिक समाजको सहभागिता सहित पारदर्शी नियुक्ति प्रक्रिया बनाउनुपर्ने बताएको छ । 

अघिल्लो प्रदर्शनमा सयौँ पक्राउ

अक्टोबर २ मा मुम्बईको शिवाजी पार्कमा सीजेपीले निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन गरेको थियो । सोही दिन दिल्लीमा जन्तरमन्तरतर्फ जान खोजेका आम आदमी पार्टीका नेता, वामपन्थी विद्यार्थी सङ्गठन तथा नागरिक समाजका सदस्यलाई प्रहरीले रोकेको थियो । विभिन्न सञ्चारमाध्यमका अनुसार दिल्लीमा ५०० भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको थियो । 

सीजेपीले यसअघि परीक्षा प्रश्न पत्र चुहावटविरुद्ध भएको विद्यार्थी आन्दोलनबाट राष्ट्रिय चर्चा पाएको थियो । उक्त आन्दोलनपछि तत्कालीन केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका थिए ।

अहिले यो समूहले बेरोजगारी र शिक्षा क्षेत्रका मुद्दासँगै निर्वाचन प्रणालीको पारदर्शिता तथा सरकारी जबाफदेहितालाई पनि आफ्नो अभियानको विषय बनाएको छ ।