श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपक्षकी पत्नी तथा पूर्वप्रथम महिला शिरन्थी राजपक्षलाई भ्रष्टाचारसम्बन्धी अनुसन्धानका क्रममा बुधबार पक्राउ गरिएको छ । उनीमाथि आफ्नो नेतृत्वमा रहेको ‘सिरिलिया सविया’ संस्थाको बैंक खातासँग जोडिएको १ करोड श्रीलङ्काली रुपैयाँको कारोबारमा अनियमितता गरेको आरोप छ ।
भ्रष्टाचार तथा घुससम्बन्धी आरोपको अनुसन्धान गर्ने श्रीलङ्काको आयोग (सीआईएबिओसी) का अधिकारीहरूले कोलम्बोको किरुलापोनस्थित राजपक्ष परिवारको निवासबाट ७३ वर्षीया शिरन्थीलाई नियन्त्रणमा लिएका हुन् । उनी पूर्वराष्ट्रपति महिन्दा राजपक्षकी पत्नी हुन् ।
सीआईएबीओसी आयोगका अनुसार शिरन्थीले सरकारी स्वामित्वको बैंकबाट १ करोड श्रीलङ्काली रुपैयाँ प्राप्त गरी त्यसको ‘दुरुपयोग’ गरेको आरोपमा सार्वजनिक सम्पत्ति ऐन तथा भ्रष्टाचारसम्बन्धी कानुनअन्तर्गत अनुसन्धान अघि बढाइएको हो ।
सीटी स्क्यान खरिदका लागि लिइएको रकममाथि प्रश्न
अनुसन्धानकर्ताहरूले सन् २०११–१२ तिर सरकारी बैंकबाट प्राप्त १ करोड रुपैयाँ ‘सिरिलिया सविया’ को खातामा जम्मा गरिएको विषयमा अनुसन्धान गरिरहेका छन् । उक्त रकम बालबालिकाका लागि रहेको लेडी रिजवे अस्पतालमा सीटी स्क्यान मेसिन खरिद गर्ने उद्देश्यले दिइएको बताइएको थियो ।
तर अनुसन्धानका क्रममा उक्त रकमबाट सीटी स्क्यान मेसिन खरिद गरिएको पुष्टि हुन नसकेको अधिकारीहरूले बताएका छन् । बरु अस्पतालमा चीनबाट सहयोग स्वरूप प्राप्त पीईटी स्क्यान मेसिन उपलब्ध गराइएको अनुसन्धानमा देखिएको छ ।
यसै विषयमा अनुसन्धानकर्ताहरूले सम्बन्धित सरकारी बैंकका तत्कालीन अध्यक्षको बयान समेत लिइसकेका छन् । शिरन्थी नेतृत्वमा रहेको सिरिलिया सवियासँग सम्बन्धित वित्तीय कारोबारबारे अनुसन्धान भने अझै जारी छ ।
विदेशबाट फर्किएलगत्तै पक्राउ
शिरन्थी सेप्टेम्बर १६ मा थप उपचारका लागि विदेश गएकी थिइन् । उनलाई सेप्टेम्बर २४ मा वित्तीय अपराध अनुसन्धान महाशाखा (एफसीआईडि) मा उपस्थित हुन भनिएको थियो । तर स्वास्थ्य उपचारका कारण आफू उपस्थित हुन नसक्ने जानकारी उनका वकिलले अनुसन्धानकर्तालाई दिएका थिए ।
उनी सोमबार राति विदेशबाट श्रीलंका फर्किएकी थिइन् । त्यसअघि उनका वकिलले सम्भावित पक्राउ रोक्न माग गर्दै अदालतमा अग्रिम जमानतको निवेदन दिएका थिए । अदालतले उक्त निवेदनमाथि सुनुवाइ गर्दै एफसीआईडिका अधिकारीलाई अक्टोबर १२ मा आफ्नो धारणा प्रस्तुत गर्न आदेश दिएको थियो ।
शिरन्थीमाथिको अनुसन्धान उनका पति महिन्दा राजपक्ष राष्ट्रपति रहेको सन् २००५ देखि २०१५ सम्मको अवधिमा सञ्चालन भएको सिरिलिया सविया संस्थाका वित्तीय कारोबारसँग सम्बन्धित छ । राजपक्ष परिवारमाथि भ्रष्टाचार तथा सम्पत्तिसम्बन्धी अनुसन्धान पछिल्लो समय तीव्र भएको छ ।
अप्रिलमा भ्रष्टाचार आयोगले महिन्दा राजपक्षले बुझाएको सम्पत्ति विवरण अपूर्ण रहेको जनाएको थियो । आयोगले उनकी पत्नीको स्वामित्वमा रहेको कोलम्बोस्थित एउटा घरको खरिद प्रक्रियामाथि पनि छानबिन गरिरहेको बताएको थियो ।
यसैबिच, महिन्दा राजपक्षका जेठा छोरा तथा विपक्षी श्रीलंका पोदुजना पेरामुना पार्टीका सांसद नमल राजपक्ष पनि छुट्टाछुट्टै घुससम्बन्धी मुद्दामा सेप्टेम्बर ४ देखि कोलम्बो रिमान्ड जेलमा रहेको बताइएको छ । शिरन्थीमाथि लगाइएका आरोपको अन्तिम पुष्टि भने अदालतको प्रक्रियाबाट हुन बाँकी छ ।