‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा

आप्रवासन आप्रवासन

 

अफ्रिकामा ‘मरुभूमिको जहाज’ भनेर चिनिने ऊँट अत्यधिक गर्मी र खडेरी सहन सक्ने जनावरका रूपमा परिचित छन् । तर अहिले जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले यिनै ऊँटसमेत संकटमा परेका छन् । 

वैज्ञानिकहरूका अनुसार अफ्रिकाका धेरै क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियसभन्दा माथि पुग्न थालेपछि ऊँटमा गर्मीजन्य तनाव, रोग, उत्पादनमा गिरावट र अकास्मिक मृत्यु जस्ता जोखिम तीव्र रूपमा बढेको छ ।

इथियोपियाको उत्तरपूर्वी अफार क्षेत्र संसारकै सबैभन्दा तातो र सुख्खा स्थानमध्ये एक मानिन्छ । यही क्षेत्रमा पुस्तौँदेखि ऊँट प्रयोग गरेर नुन ढुवानी गर्ने चलन छ । तर अफारका ऊँटपालक अली उमर भन्छन्, ‘अहिलेको गर्मीले ऊँटले पनि थेग्न नसक्ने अवस्था सिर्जना भएको छ ।’

उनका अनुसार अत्यधिक गर्मीका कारण ऊँटका खुट्टामा फोका उठ्ने, आँखा रसाउने, तातो बालुवाले छाला पोल्ने र रौँ झर्ने समस्या बढेको छ । पछिल्लो एक महिनामै उनले आठ वटा ऊँटका बच्चा गुमाइसकेका छन् । ‘पहिले चिसो हावा चल्थ्यो, अहिले हावा पनि तातो हुन थालेको छ,’ उनले भने ।

अफ्रिकाको उत्तर भाग र ‘हर्न अफ अफ्रिका’ क्षेत्रमा विश्वका करिब ८० प्रतिशत एककुब्डे (ड्रोमेडरी) जातका ऊँट पाइन्छन् । यही कारण यी क्षेत्रमा बसोबास गर्ने किसान र पशुपालकले गाईभैंसीभन्दा ऊँट पालनलाई प्राथमिकता दिएका थिए, किनकि ऊँटलाई खडेरी र गर्मी सहने जनावर मानिन्थ्यो । तर पछिल्ला अध्ययनहरूले यो धारणा बदलिँदै गएको देखाएका छन् । सन् २०२५ मा इथियोपियामा गरिएको अध्ययनले जलवायु परिवर्तनले ऊँटको स्वास्थ्य, उत्पादन क्षमता र प्रजननमा गम्भीर असर पारेको निष्कर्ष निकालेको थियो ।

छिमेकी सोमालियाको अवस्था अझ गम्भीर देखिएको छ । करिब ६ हजार पशुपालक परिवारमा गरिएको अनुसन्धानले खडेरीका कारण ऊँट मर्ने समस्या व्यापक भएको देखाएको छ । अध्ययनअनुसार ऊँट पाल्ने झण्डै ४६ प्रतिशत परिवार यस समस्याबाट प्रभावित भएका छन् भने सोमालियाको सूल क्षेत्रमा ऊँटको मृत्यु दर करिब ७३ प्रतिशत पुगेको छ ।

केन्याको उत्तरपूर्वी मार्साबिट क्षेत्रका पशु चिकित्सक हसन नुया गुयोका अनुसार पछिल्ला दुई वर्षमा अत्यधिक गर्मीका कारण ऊँटको मृत्यु १५ प्रतिशतभन्दा बढी बढेको छ । अहिले ऊँटमा शरीरको तापक्रम अत्यधिक बढ्ने (हाइपरथर्मिया), संक्रमण र पानीको अभावसँग सम्बन्धित रोगहरू तीव्र रूपमा बढिरहेका छन् ।

वैज्ञानिकहरूका अनुसार ऊँटले सामान्यतया ४० डिग्री सेल्सियससम्मको तापक्रम सहज रूपमा सहन सक्छ । शरीरको तापक्रम दिनभर केही डिग्री घटबढ गर्न सक्ने क्षमता, पसिना कम निकाल्ने प्रकृति, बाक्लो छाला तथा पानी बचाउने जैविक प्रणालीका कारण ऊँट कठोर मरुभूमिमा पनि बाँच्न सफल हुन्छ ।

तर संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) का ऊँट स्वास्थ्य विशेषज्ञ डा. मोहम्मद बेन्गुइमीका अनुसार अहिले सहारा मरुभूमिका धेरै भागमा तापक्रम नियमित रूपमा ५० डिग्री सेल्सियसभन्दा माथि पुग्न थालेको छ । यस्तो अवस्थामा पानीको अभाव, हरियालीको कमी र छायाँ नपाउँदा ऊँटमा गम्भीर गर्मीजन्य तनाव उत्पन्न हुन्छ ।

अल्जेरियाका अनुसन्धानकर्ता प्राध्यापक अब्देलमाजिद चेहमाका अनुसार लगातार ४१ देखि ४५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमले ऊँटका कोषिकामै असर पु¥याउँछ । यसले रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउने, खान मन नलाग्ने, शरीर सुस्त हुने, दूध उत्पादन घट्ने तथा प्रजननमा समस्या निम्त्याउने गर्छ ।

यसका अतिरिक्त तौल घट्ने, मिर्गौलामा समस्या, मांसपेशी र हड्डीसम्बन्धी रोग तथा परजीवीजन्य संक्रमण पनि बढ्दै गएको अनुसन्धानहरूले देखाएका छन् ।

अत्यधिक गर्मीका कारण धेरै इथियोपियाली पशुपालकले अहिले आफ्ना ऊँटलाई उत्तरका परम्परागत चरन क्षेत्रबाट दक्षिणतर्फ सार्न थालेका छन्, जहाँ अझै केही पानी र घाँस उपलब्ध छ । अनुसन्धानकर्ताहरूका अनुसार यो मौसमी बसाइँसराइ होइन, स्थायी रूपमा बसाइँ सर्ने प्रवृत्ति हो ।

विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) का अनुसार सन् १९९१ देखि २०२५ बिच उत्तर अफ्रिका विश्वकै सबैभन्दा तीव्र गतिमा तातिएको क्षेत्रमध्ये एक बनेको छ । जलवायु परिवर्तनका कारण बारम्बार आउने भीषण गर्मी र खडेरीले मानिससँगै पशुधनको जीवन पनि संकटमा पारेको छ ।

विशेषज्ञहरूको निष्कर्ष स्पष्ट छ । एक समय मरुभूमिमा जीवनको अन्तिम भरोसा मानिएको ऊँट अहिले स्वयं जलवायु परिवर्तनको सिकार बन्दै गएको छ । यदि तापक्रम बढ्ने क्रम यही गतिमा जारी रह्यो भने अफ्रिकाका लाखौँ पशुपालकको जीविकोपार्जनमाथि गम्भीर संकट उत्पन्न हुने चेतावनी उनीहरूले दिएका छन् ।