भारतको हैदराबादबाट लन्डनतर्फ उडिरहेको ब्रिटिस एयरवेजको विमानमा उडानकै क्रममा तीनै जना पाइलट अचानक बिरामी परेका छन् । पाइलट बिरामी परे पनि विमानलाई सुरक्षित रूपमा लन्डनको हिथ्रो विमानस्थलमा अवतरण गराइएको छ ।
डेली स्टारका अनुसार करिब साढे १० घण्टाको उडानका क्रममा बोइङ ७७७ विमान करिब ३० हजार फिटको उचाइमा पुगेपछि एक जना फर्स्ट अफिसरको स्वास्थ्य अचानक बिग्रिएको थियो । अवस्था गम्भीर भएपछि उनलाई अक्सिजनसमेत दिनुपरेको थियो । उनी विमान सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका थिए ।
त्यसपछि बाँकी दुई पाइलटमा पनि फुड पोइजनिङसँग मिल्दोजुल्दो लक्षण देखिएको बताइएको छ । स्वास्थ्य अवस्था राम्रो नभए पनि उनीहरूले संयमता अपनाउँदै विमानलाई सुरक्षित रूपमा लन्डनको हिथ्रो विमानस्थलमा अवतरण गराएको बताइएको छ ।
विमान सुरक्षित अवतरण गरेपछि तीनै जना पाइलटलाई तत्काल चिकित्सकीय उपचारका लागि अस्पताल लगिएको थियो । ब्रिटिस एयरवेजले यात्रुहरूको सुरक्षामा कुनै सम्झौता नभएको र सम्पूर्ण उडान सुरक्षित रूपमा सम्पन्न भएको जनाएको छ । साथै घटनाको आन्तरिक अनुसन्धान पनि सुरु गरिएको कम्पनीले जानकारी दिएको छ ।
प्राप्त जानकारीअनुसार उडानअघि तीनै जना पाइलट हैदराबादको एउटै होटलमा बसेका थिए । उनीहरूले त्यहीँ बिहानको खाना खाएका थिए र होटलको लाउन्जमा पेय पदार्थ सेवन गरेका थिए । साथै, बाहिरी कम्पनीले उपलब्ध गराएको बोतलबन्द पानी पनि पिएका थिए ।
अनुसन्धानकर्ताहरू अहिले सम्भावित फुड पोइजनिङको कारण पत्ता लगाउने प्रयासमा छन् । तीनै जना पाइलटले हवाई सुरक्षा प्रतिवेदन बुझाएका छन् भने उनीहरूको स्वास्थ्य परीक्षणका लागि चिकित्सकीय नमुनासमेत सङ्कलन गरिएको छ ।
केही सञ्चारमाध्यमका अनुसार एयरलाइन्सका चालक दल बस्ने उक्त होटलको सरसफाइ र खानपानको गुणस्तरबारे यसअघि पनि गुनासो आएको थियो । पाइलटहरूको संस्था बाल्पाले पनि यस होटलको अवस्थाबारे पटक–पटक चिन्ता व्यक्त गरेको बताइएको छ ।
यस घटनापछि ब्रिटिस एयरवेजले हैदराबादमा आफ्ना चालक दलको बसोबास व्यवस्थाको पुनरावलोकन गर्ने जनाएको छ । कम्पनीका प्रवक्ताले कर्मचारीहरूको स्वास्थ्य र सुरक्षा नै आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै हालै देखिएका बिरामीका घटनालाई गम्भीर रूपमा लिएर होटल र बसोबास व्यवस्थाको समीक्षा भइरहेको बताएका छन् ।