अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा अमेरिकासँग नयाँ सम्झौता गर्न भिख मागिरहेको दाबी गरेका छन् । फिलिपिन्सको राजधानी मनिलामा आयोजित आसियान शिखर सम्मेलनको अवसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति इरानप्रति अझ कडा हुने सङ्केत दिए ।
रुबियोका अनुसार इरानले बारम्बार अमेरिका समक्ष वार्ताको प्रस्ताव राख्दै आएको छ । ‘इरानले हामीसँग भिख मागिरहेको छ, प्रत्यक्ष र परोक्ष दुवै रूपमा भनिरहेको छ, सम्झौता गरौँ । वार्ता गरौँ । कुरा गरौँ,’ उनले भने । हरेक पटक अमेरिका र इरानले युद्धविराम वा अन्य सम्झौता हुँदा इरानका नेतृत्वकर्ताहरूले ती सम्झौता उल्लङ्घन गर्ने वा पछि त्यसका सर्त परिवर्तन गर्न खोज्ने गरेको आरोप उनले लगाए ।
इरानले आफ्नो व्यवहार परिवर्तन नगरेसम्म उसले निरन्तर ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी पनि रुबियोले दिए । उनका अनुसार अमेरिकाले हरेक रात गर्ने सैन्य कारबाहीसँगै इरानले बेहोर्नुपर्ने क्षति झन् बढ्दै गएको छ । अहिलेको अवस्थामा राष्ट्रपति ट्रम्पले इरानका वार्तासम्बन्धी प्रस्तावलाई सकारात्मक रूपमा लिने कुनै आवश्यकता नदेखेको उनले बताए । रुबियोका अनुसार इरान हालसम्म आफूले पालना गर्न तयार हुने किसिमको सम्झौता गर्न इच्छुक देखिएको छैन ।
रुबियोको यो अभिव्यक्ति इरानका विदेशमन्त्री अब्बास अराघचीले हालै इरानको रक्षा नीति आँखाको बदलामा आँखा रहेको बताएका केही घण्टापछि आएको हो । अराघचीले इरानको पूर्वाधारमाथि हुने कुनै पनि आक्रमणको शक्तिशाली र निर्णायक जवाफ दिइने चेतावनी दिएका थिए । यसै सन्दर्भमा रुबियोले राष्ट्रपति ट्रम्पको नीति इरानको भनाइभन्दा अझ कडा रहेको उल्लेख गर्दै आँखाको बदलामा टाउको लिने टिप्पणी गरे ।