इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु

आप्रवासन आप्रवासन

 

 इरानका विभिन्न क्षेत्रमा शुक्रबार बिहान अमेरिकाले गरेको आक्रमणमा कम्तीमा ४ जनाको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । 

इरानी सरकारी टेलिभिजन प्रेस टिभीका अनुसार पश्चिमी तटीय प्रान्त खुजेस्तानको अहभाज सहरमा अमेरिकाले गरेको भनिएको आक्रमणमा ४ जनाको मृत्यु भएको हाे । साे घटनामा केही व्यक्ति घाइते भएका छन् । घटनाबारे स्वतन्त्र रूपमा पुष्टि हुन भने बाँकी रहेको छ ।  साेही प्रान्तका अन्दिमेश्क र ओमिदियेह सहर नजिकका क्षेत्रहरूमा पनि क्षेप्यास्त्र प्रहार भएको सरकारी समाचार संस्था आईआरएनएले जनाएको छ ।

मध्य इरानको मार्काजी प्रान्तस्थित खोन्दाब सहरको बाहिरी क्षेत्रमा दुई वटा क्षेप्यास्त्र प्रहार भएको बताइएको छ । प्रान्तका उपप्रमुखका अनुसार घटनास्थलमा भएको क्षति र सम्भावित मानवीय हताहतीको विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।  त्यस्तै, लोरेस्तान प्रान्तको खोर्रमाबाद सहरमा पनि एउटा क्षेप्यास्त्र खसेको आईआरएनएले जनाएको छ । त्यहाँ भएको क्षति तथा सम्भावित हताहतीको मूल्याङ्कन सम्बन्धित अधिकारीहरूले गरिरहेका छन् ।

दक्षिणी होर्मोजगान प्रान्तको बन्दर अब्बास बन्दरगाह सहरमा भएको अर्को आक्रमणमा दुई जना घाइते भएको इरानी सरकारी प्रसारक आईआरआईबीले जनाएको छ ।  हालसम्म आक्रमणको पूर्ण विवरण सार्वजनिक भएको छैन भने विभिन्न स्थानमा भएको क्षति र मानवीय हताहतीबारे सम्बन्धित निकायहरूले थप अनुसन्धान गरिरहेका छन् ।