स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू

आप्रवासन आप्रवासन

 

इरानसँगको युद्धअघि फारसी खाडीबाट दैनिक करिब एक करोड ५० लाख ब्यारेल कच्चा तेल स्ट्रेट अफ होर्मुज हुँदै विश्व बजारमा पुग्ने गर्थ्यो । तर इरानले उक्त समुद्री मार्गमा नियन्त्रण कडा बनायो र विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा बढ्न थाल्यो । यस्तोमा पश्चिम एसियाका तेल उत्पादक देशहरूले होर्मुजलाई छलेर तेल निर्यात गर्ने नयाँ मार्ग निर्माणलाई तीव्रता दिएका छन् ।

साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र इराकलगायत देशहरूले अरब सागर, लाल सागर र भूमध्यसागरसम्म तेल पुर्‍याउने पाइपलाइन विस्तारका लागि अर्बौं डलर लगानी गर्ने योजना अघि बढाएका छन् । सरकारी अधिकारी, तेल कम्पनी र विश्लेषकहरूका अनुसार हाल कम्तीमा सातवटा ठूला पाइपलाइन आयोजना निर्माणाधीन, योजनाको चरणमा वा छलफलमा रहेका छन् ।

विश्लेषकहरूका अनुसार इरानसँगको युद्धले खाडी मुलुकहरूलाई होर्मुजमा अत्यधिक निर्भर रहनु दीर्घकालीन रूपमा सुरक्षित रणनीति नभएको महसुस गराएको छ । यद्यपि वैकल्पिक मार्गहरू पनि पूर्ण रूपमा सुरक्षित छैनन् । बिहीबार यमनका इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागरमा दुई साउदी तेल ट्याङ्करमाथि आक्रमण गरेको दाबी गरे । यसले वैकल्पिक मार्गहरू पनि जोखिममा रहेको देखाएको छ ।

साउदी अरबले सन् १९८० को दशकमा इरान–इराक युद्धका बेला निर्माण गरेको ईस्ट–वेस्ट पाइपलाइन अहिले सबैभन्दा महत्त्वपूर्ण विकल्प बनेको छ । यस पाइपलाइनमार्फत अब्काइकबाट लाल सागर किनारको यान्बुसम्म तेल पुर्‍याइन्छ र त्यहाँबाट ट्याङ्करमार्फत विश्व बजारमा पठाइन्छ । त्यसैगरी यूएईले पनि होर्मुजभन्दा दक्षिणमा रहेको ओमानको खाडीस्थित फुजैराह बन्दरगाह हुँदै तेल निर्यात बढाइरहेको छ । युद्धअघि यी दुई पाइपलाइनमा दैनिक ३५ लाखदेखि ५५ लाख ब्यारेलसम्म अतिरिक्त क्षमता रहेको अनुमान गरिए पनि अहिले ती लगभग पूर्ण क्षमतामा सञ्चालन भइरहेका छन् ।

यूएईको सरकारी तेल कम्पनीले फुजैराहसम्म पुग्ने करिब ३०० किलोमिटर लामो नयाँ पाइपलाइन निर्माणलाई तीव्र बनाएको छ । करिब ३ अर्ब अमेरिकी डलर लागतको यस आयोजनाले दैनिक १२ लाख ब्यारेलभन्दा बढी अतिरिक्त तेल फुजैराह पुर्‍याउने लक्ष्य राखेको छ । यो आयोजना सन् २०२७ सम्म सम्पन्न हुने अपेक्षा गरिएको छ ।

इराकले पनि दक्षिणी बसरा क्षेत्रबाट टर्कीको भूमध्यसागरीय बन्दरगाह जेहानसम्म नयाँ पाइपलाइन निर्माण गर्ने योजना अघि बढाएको छ । यही पाइपलाइनको अर्को शाखा सिरियाको बनियास बन्दरगाहसम्म पुग्ने प्रस्ताव छ, जसबाट दैनिक करिब २० लाख ब्यारेल तेल ढुवानी गर्न सकिने अनुमान गरिएको छ । साथै इराक र जोर्डनबीच बसराबाट अकाबासम्म अर्को पाइपलाइन निर्माणबारे पनि छलफल भइरहेको छ, जसबाट तेल लाल सागर हुँदै एशियाली बजारसम्म पठाइनेछ ।

अमेरिकी बहुराष्ट्रिय लगानी बैंक गोल्डम्यान साक्सका विश्लेषकहरूका अनुसार यी सबै आयोजना सम्पन्न भएमा सन् २०२७ को अन्त्यसम्म दैनिक थप ३८ लाख ब्यारेल र सन् २०२८ को अन्त्यसम्म दैनिक ७३ लाख ब्यारेल तेल होर्मुज जलडमरूमध्य प्रयोग नगरी निर्यात गर्न सकिनेछ । त्यस अवस्थामा युद्धअघि खाडी क्षेत्रबाट निर्यात हुने कुल २ करोड ३० लाख ब्यारेल तेलमध्ये करिब ६० प्रतिशत वैकल्पिक मार्गबाट पठाउन सकिने अनुमान गरिएको छ ।

यद्यपि नयाँ मार्गहरू प्रयोग गर्दा ढुवानी दूरी र लागत दुवै बढ्नेछ । भूमध्यसागरतर्फ जाने पाइपलाइनले एशियाली बजारका लागि तेललाई अफ्रिकाको दक्षिणी भाग घुमाएर लैजानुपर्ने हुन्छ, जसले समय र खर्च थप बढाउँछ । साथै लाल सागर हुँदै जाने मार्ग पनि हुथी विद्रोहीहरूको आक्रमणको जोखिममा रहेको छ । सन् २०१९ मा हुथीहरूको ड्रोन आक्रमणका कारण साउदीको ईस्ट–वेस्ट पाइपलाइन केही समय बन्द भएको थियो ।