संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन बाँकी रहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पका रिपब्लिकनले प्रतिनिधिसभाको बहुमत जोगाउन र सिनेटमा आफ्नो नियन्त्रण कायम राख्न कठिन प्रतिस्पर्धाको सामना गरिरहेका छन् ।
ट्रम्प नोभेम्बर ३ मा हुने मतदानमा उम्मेदवार नबन्ने भए पनि मध्यावधि चुनावको परिणाम उनका लागि महत्वपूर्ण हुनेछ । डेमोक्र्याटले प्रतिनिधिसभामा बहुमत हासिल गरे उनीहरूले शक्तिशाली समितिको नेतृत्व, अनुसन्धान तथा छानबिनका लागि समन जारी गर्ने अधिकार पाउनेछन् । यसले ट्रम्प प्रशासनमाथि दुई वर्षसम्म व्यापक अनुसन्धान हुनसक्ने र उनीविरुद्ध तेस्रो महाभियोगको प्रयाससमेत अघि बढ्न सक्ने सम्भावना छ ।
रिपब्लिकन यसपटक ऐतिहासिक रूपमा साँघुरो प्रतिनिधिसभा बहुमत, राष्ट्रपतिको कमजोर अनुमोदन दर तथा जीवनयापनको बढ्दो लागत र इरानसँगको युद्धप्रति मतदाताको असन्तुष्टिबीच चुनावी मैदानमा उत्रिएका छन् । अमेरिकी चुनावसम्बन्धी वेबसाइट डिसिजन डेस्क मुख्यालयले डेमोक्र्याटले प्रतिनिधिसभामा बहुमत हासिल गर्ने सम्भावना ५९ प्रतिशत रहेको आकलन गरेको छ । उसले डेमोक्र्याटको सम्भावित बहुमत २२४–२११ हुने प्रक्षेपण गरेको छ ।
राष्ट्रपतिको दलले सामान्यतया मध्यावधि चुनावमा सिट गुमाउने गरेको छ । यसपटक केही सीमित सिटमा हुने परिवर्तनले प्रतिनिधिसभाको नियन्त्रणमा प्रभाव पार्न सक्ने देखिएको छ । इरानसँगको युद्धले ऊर्जा बजारमा असर पारेको, मुद्रास्फीति अझै उच्च रहेको तथा ब्याजदर बढिरहेकाले अमेरिकी अर्थतन्त्रप्रति मतदाताको असन्तुष्टि बढेको छ । पेट्रोलको मूल्यसमेत प्रतिग्यालोन चार डलरभन्दा माथि पुगेको छ ।
डेमोक्र्याटले उद्धृत गरेका विभिन्न सर्वेक्षणले मुद्रास्फीति, स्वास्थ्य सेवा र आप्रवासनका विषयमा मतदाताको विश्वास रिपब्लिकनभन्दा डेमोक्र्याटतर्फ बढेको देखाएको दाबी गरेका छन् । हाउस डेमोक्र्याटिक नेता हकीम जेफ्रीजले बिहीबार किराना सामान, पेट्रोल, आवास र स्वास्थ्य सेवाको मूल्यलाई केन्द्रमा राखेर आफ्नो पार्टीको चुनावी अभियान घोषणा गर्दै ट्रम्प र रिपब्लिकनले अमेरिकी जनतालाई निराश पारेको आरोप लगाए ।
‘सामान्य बुद्धिमत्ता’ विरुद्ध प्रगतिशील एजेन्डा
रिपब्लिकनले आगामी चुनावलाई प्रतिनिधिसभाका सभामुख माइक जोनसनले भनेझैँ ‘सामान्य बुद्धिमत्ता’ र बढ्दो प्रगतिशील डेमोक्र्याटिक पार्टीबीचको छनोटका रूपमा प्रस्तुत गर्ने तयारी गरेका छन् ।
उनीहरूले डेमोक्र्याटिक उम्मेदवारलाई ‘समाजवादी वामपन्थी’सँग जोडेर प्रस्तुत गर्ने तथा सीमा सुरक्षा र कर कटौतीलाई प्रमुख चुनावी मुद्दा बनाउने योजना बनाएका छन् ।
ट्रम्पले पनि रिपब्लिकनका लागि उपलब्ध सबै राजनीतिक लाभ उठाउने प्रयास गरिरहेका छन् । उनले चुनावी धाँधली रोक्न आवश्यक रहेको भन्दै ‘सेभ अमेरिका ऐन’ पारित गर्न कङ्ग्रेसका रिपब्लिकन सदस्यलाई दबाब दिँदै आएका छन् । डेमोक्र्याटले भने उक्त विधेयकलाई वैध मत दबाउने प्रयासका रूपमा आलोचना गरेका छन् ।
यसैबीच, दुवै दलले आफ्नो पक्षमा हुने गरी निर्वाचन क्षेत्रको नक्सा पुनःनिर्धारण गर्ने प्रयास गरेका छन् । रिपब्लिकनले यसबाट पाँचदेखि १२ सिटसम्म खुद लाभ लिन सक्ने अनुमान गरिएको छ । यसले अत्यन्त प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको प्रतिनिधिसभाको चुनावमा राष्ट्रिय राजनीतिक वातावरणको प्रभावलाई केही हदसम्म कम गर्न सक्नेछ ।
जर्ज वासिङ्टन विश्वविद्यालयकी राजनीतिशास्त्रकी प्राध्यापक सारा बाइन्डरले यसपटक निर्वाचन क्षेत्र पुनःनिर्धारण विशेष प्रभावकारी भएको बताइन् । उनका अनुसार प्रतिनिधिसभाका करिब २० निर्वाचन क्षेत्रमा मात्र वास्तविक रूपमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
‘निर्वाचन क्षेत्र पुनःनिर्धारणले डेमोक्र्याटले ती सिटमा प्रतिस्पर्धा गर्न सक्ने आधारलाई वास्तवमै कमजोर बनाएको छ,’ उनले एएफपीसँग भनिन् ।
रिपब्लिकनले चुनावी अभियानका लागि आर्थिक लाभसमेत हासिल गरेका छन् । पार्टीका अभियान समिति तथा सहयोगी समूह डेमोक्र्याटिक समकक्षीभन्दा करोडौँ डलर बढी रकमसहित चुनावको अन्तिम चरणमा प्रवेश गरेका छन् ।
सिनेटमा पनि कडा प्रतिस्पर्धा
सिनेटमा पनि प्रतिस्पर्धा उत्तिकै महत्वपूर्ण देखिएको छ । रिपब्लिकनसँग ५३–४७ को बहुमत रहेकाले डेमोक्र्याटलाई नियन्त्रण हासिल गर्न चार सिटको खुद लाभ आवश्यक हुनेछ ।
डिसिजन डेस्क मुख्यालयले भने ५०–५० को बराबरी भए पनि उपराष्ट्रपति जेडी भान्सको निर्णायक मतका कारण रिपब्लिकनले सिनेटमा नियन्त्रण कायम राख्ने सम्भावना रहेको जनाएको छ ।
ट्रम्पका लागि प्रतिनिधिसभा र सिनेटमा फरक–फरक दलको नियन्त्रण भए बाँकी कार्यकालमा ठूलो प्रभाव पर्नेछ । डेमोक्र्याटले प्रतिनिधिसभा नियन्त्रण गरे ट्रम्पको विधायिकी एजेन्डा अवरुद्ध हुनसक्नेछ भने उनका अधिकारीले संसदीय छानबिन र सार्वजनिक सुनुवाइको सामना गर्नुपर्नेछ ।
डेमोक्र्याटले इरानसँगको युद्ध, प्रशासनको नैतिकता तथा निर्वाचन प्रणाली पुनःनिर्धारण गर्न ट्रम्पले गरिरहेका प्रयासलगायतका विषयमा अनुसन्धान अघि बढाउन सक्नेछन् ।
राजनीतिक विश्लेषक चक टोडले मध्यावधि चुनाव हुन १०० दिन बाँकी रहँदा रिपब्लिकन नौ महिनाअघि सिनेटमा ‘स्पष्ट रूपमा अगाडि’ रहेको अवस्थाबाट अहिले ‘झिनो अग्रता’को अवस्थामा पुगेको बताए ।
उनका अनुसार प्रतिनिधिसभाको चुनावमा डेमोक्र्याटले १० देखि २५ सिटसम्मको लाभ हासिल गर्न सक्ने सम्भावना छ ।
इकोनोमिस्ट/युगोभको पछिल्लो सर्वेक्षणमा ट्रम्पको लोकप्रियता पनि न्यून बिन्दुनजिक देखिएको छ । सर्वेक्षणमा ३६ प्रतिशत अमेरिकीले मात्र राष्ट्रपतिका रूपमा उनको कार्यसम्पादनलाई अनुमोदन गरेका छन् ।
टोडले राष्ट्रपतिको अनुमोदन दर मध्यावधि चुनावको परिणाम अनुमान गर्ने सबैभन्दा महत्वपूर्ण सूचक भएको बताउँदै ट्रम्पको कमजोर अनुमोदन दरले रिपब्लिकनले प्रतिनिधिसभामा सिट गुमाउने सम्भावना बढाएको उल्लेख गरे।