क्यास्पियन सागरमा इरानी व्यापारिक जहाजमाथि भएको आक्रमणपछि इरानले युक्रेनविरुद्ध कडा चेतावनी दिएको छ । इरानी अधिकारीहरूले यस घटनाको जवाफ दिइने स्पष्ट सङ्केत गर्दै युक्रेनलाई आफ्नो कार्यको परिणाम भोग्नुपर्ने बताएका छन् ।
इरानको गिलान प्रान्तका गभर्नर हादी हक–शेनासका अनुसार आक्रमणमा एक नाविकको मृत्यु भएको छ भने अन्य तीन जना चालक दलका सदस्य घाइते भएका छन् ।
उनका अनुसार जहाजमा फलाम बोकेर रुसको अस्त्राखान बन्दरगाहबाट इरानको अन्जाली बन्दरगाहतर्फ लगिँदै थियो । उनले उक्त समुद्री मार्गलाई इरान र रुसबिचको व्यापारका लागि सुरक्षित र भरपर्दो मार्गका रूपमा वर्णन गरेका छन् ।
इरानी संसद्को राष्ट्रिय सुरक्षा समितिका प्रमुख इब्राहिम अज्जिजीले सामाजिक सञ्जाल एक्समार्फत कुनै पनि आक्रमणको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । उनले अमेरिका र इजरायललाई पनि इरानले आफ्ना विरुद्धको कुनै पनि कारबाहीको जवाफ दिने क्षमता राख्ने जानकारी रहेको दाबी गर्दै अब युक्रेनले पनि त्यसको अनुभव गर्न सक्ने बताएका छन् ।
इरानका विदेशमन्त्री सय्यद अब्बास अराघचीले पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कडा आलोचना गरेका छन् । उनले युक्रेनले इरानी व्यापारिक जहाजमाथि आक्रमण गरी एक नाविकको ज्यान लिएको आरोप लगाउँदै यसलाई संयुक्त राष्ट्रसङ्घको बडापत्रको स्पष्ट उल्लङ्घन भनेका छन् ।
साथै उनले यो आक्रमण इजरायलको प्रभावमा भएको दाबी गर्दै यसको जवाफ अवश्य दिइने चेतावनी दिएका छन् । यता, युक्रेनले भने शनिबार क्यास्पियन सागरमा इरानबाट रुसतर्फ सैन्य सामग्री ढुवानी गरिरहेका जहाजहरूलाई निशाना बनाएको जनाएको थियो ।
राष्ट्रपति जेलेन्स्कीले क्यास्पियन क्षेत्रमा गरिएको लामो दूरीको आक्रमण अत्यन्त सफल भएको दाबी गरेका छन् । उनका अनुसार आक्रमणमा इरानबाट रुसतर्फ सैन्य सामग्री बोकेका जहाजहरूका साथै एक युद्धपोतलाई पनि निशाना बनाइएको थियो ।
यसैबिच, इरानी अधिकारीहरूले हालै अमेरिकाले पनि क्यास्पियन सागर क्षेत्रमा रहेका केही सैन्य पूर्वाधारमाथि आक्रमण गरेको आरोप लगाएका छन् । गिलान प्रान्तको प्रशासनका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)को नौसैनिक सुविधामाथि हवाई आक्रमण भएको थियो ।