अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको हवाई आक्रमण लगातार दोस्रो दिन पनि स्थगित गरेका छन् ।
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जका अनुसार कूटनीतिक वार्तालाई थप समय र अवसर दिन राष्ट्रपति ट्रम्पले यस्तो निर्णय गरेका हुन् । फक्स न्युजसँग आइतबार कुरा गर्दै वाल्ट्जले राष्ट्रपति ट्रम्पले वार्तालाई अघि बढ्न केही समय दिन चाहेको बताए । कूटनीतिक पहल सफल हुने सम्भावना रहेकाले तत्काल थप सैन्य आक्रमण नगर्ने निर्णय गरिएको उनले स्पष्ट पारे।
यसको प्रतिक्रिया स्वरूप इरानले पनि पश्चिम एसिया क्षेत्रमा आफ्ना प्रतिशोधात्मक आक्रमण अस्थायी रूपमा रोकेको जनाएको छ । इरानी सेनाका एक प्रवक्ताका अनुसार अमेरिकाले आक्रमण नगरेसम्म इरानले पनि प्रतिआक्रमण नगर्ने नीति अपनाएको छ ।
करिब दुई सातादेखि अमेरिका र इरानबिच दैनिकजसो आक्रमण र प्रतिआक्रमण भइरहेका थिए । यसले जुन महिनामा भएको युद्धविराम सम्झौता प्रभावहीन बनेको थियो । दुवै पक्षले सैन्य कारबाही रोकेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ । सोमबार बजार खुल्दा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब ९१ अमेरिकी डलर पुगेको थियो ।
गत साता युद्धका कारण आपूर्ति प्रभावित हुने चिन्ताले तेलको मूल्य १०० अमेरिकी डलरसम्म पुगेको थियो । एनबीसीसँगको अन्तर्वार्तामा वाल्ट्जले राष्ट्रपति ट्रम्पले सैन्य विकल्प त्यागेको भन्ने निष्कर्ष निकाल्न नहुने बताए । उनका अनुसार आवश्यक परेमा अमेरिकासँग सबै विकल्प खुला रहनेछन्।
उनले अमेरिकी प्रशासनसँग वायु प्रतिरक्षा प्रणालीका क्षेप्यास्त्रको मौज्दात घट्दै गएको भन्ने समाचारलाई पनि अस्वीकार गरे । वाल्ट्जका अनुसार अमेरिकी सेनासँग आवश्यक परे अभियान सञ्चालन गर्न पर्याप्त सैन्य स्रोत उपलब्ध छन् । यद्यपि अमेरिकी सञ्चारमाध्यमहरूले युद्ध लम्बिँदा अमेरिकी हतियार भण्डारमा दबाब बढिरहेको भन्दै केही वरिष्ठ अधिकारीहरूले सावधानी अपनाउन सुझाव दिएको जनाएका छन्।
यसैबिच, इरान र ओमानबिच स्ट्रेट अफ हर्मुजको व्यवस्थापनबारे शुक्रबार र शनिबार तेहरानमा प्राविधिक तहका वार्ता भएका छन् । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईका अनुसार वार्तामा समुद्री मार्गको सुरक्षा र सञ्चालनबारे छलफल भएको थियो।
यस महिनाको सुरुआतमा स्ट्रेट अफ हर्मुजमाथिको नियन्त्रणलाई लिएर अमेरिका–इरान तनाव चर्किएको थियो । दुवै देशले जुन महिनामा युद्ध रोक्ने, जलमार्ग पुनः सञ्चालन गर्ने र ६० दिनभित्र दीर्घकालीन शान्ति सम्झौता गर्ने समझदारी गरेका थिए । तर जुलाई १३ मा इरानी सेनाले स्ट्रेट अफ हर्मुजमा केही तेल ट्याङ्करमाथि आक्रमण गरेपछि अमेरिकाले पुनः इरानमाथि हवाई आक्रमण सुरु गर्यो । त्यसपछि इरानले मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै प्रतिआक्रमण गरेको थियो, जसमा चार अमेरिकी सैनिकको मृत्यु भएको थियो । इरानको स्वास्थ्य मन्त्रालयका अनुसार अमेरिकी आक्रमणमा दर्जनौँ मानिसको ज्यान गइसकेको छ।
बेलायतका नयाँ रक्षा मन्त्री वेस स्ट्रिटिङले पनि आगामी साताभित्र अमेरिकी रक्षा मन्त्री पिट हेगसेथसँग भेट गरी स्ट्रेट अफ हर्मुजको सुरक्षा अवस्थाबारे छलफल गर्ने बताएका छन्। उनले विश्वको प्रमुख ऊर्जा ढुवानी मार्गको सुरक्षामा बेलायत र अमेरिका एउटै धारणा राख्ने बताए । युद्ध पाँचौँ महिनामा प्रवेश गर्दा अमेरिकाभित्र पनि यसको समर्थन घट्दै गएको देखिएको छ। सिबिएस–युगोभको पछिल्लो सर्वेक्षणअनुसार ५७ प्रतिशत अमेरिकी युद्धप्रति निराश छन् भने १९ प्रतिशत मात्र आशावादी देखिएका छन्।
फेब्रुअरीदेखि सुरु भएको अमेरिका–इजरायल र इरानबिचको युद्धमा मध्यपूर्वभरि हजारौँ मानिसको मृत्यु भइसकेको छ। अधिकांश मृत्यु इरान र लेबनानमा भएको आधिकारिक तथ्याङ्कले देखाएको छ। यसैबिच राष्ट्रपति ट्रम्पले मङ्गलबार ह्वाइट हाउसमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उक्त भेटमा इरानसँगको युद्ध, क्षेत्रीय सुरक्षा र सम्भावित कूटनीतिक समाधानबारे विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।