भिसा अस्वीकृतिमा अपिल

जर्मनीले बन्द गर्‍यो भिसा अस्वीकृतिमा प्रशासनिक अपिल

आप्रवासन आप्रवासन

जर्मनीले भिसा अस्वीकृत हुँदा दिँदै आएको केही सुविधा कटौती गरेको छ । अब जर्मनीको भिसा आवेदन अस्वीकृत भएमा प्रशासनिक अपिल गर्न नपाइने भएको हो ।

जर्मनीको विदेश मन्त्रालयले आउँदो जुलाई महिनाबाट लागु हुने गरी यो व्यवस्था गरेको हो । मन्त्रालयले जर्मन भिसा सेन्टरहरूमा धेरै आवेदनहरू थुप्रिने र निर्णय हुन लामो समय लाग्ने समस्या समाधान गर्न यो व्यवस्था गरिएको जनाएको छ ।

नयाँ व्यवस्था अनुसार भिसा अस्वीकृतिविरुद्ध अब अदालतमा मात्रै अपिल गर्न पाइने छ ।

यसअघि जर्मनीको भिसा आवेदन अस्वीकृत भएको खण्डमा आवेदकले प्रशासनिक प्रक्रियाबाट अपिल वा पुनरावेदन गर्न पाउँदथे । यस्तो अपिलमाथि सामान्यतया ३ महिनाभित्र सुनुवाइ भइसक्थ्यो ।

तर अब भने आवेदकहरूले भिसा अस्वीकृति विरुद्धको अपिल गर्दा झन्झटिलो अदालती पक्रिया पुरा गर्नुपर्ने हुन्छ । जर्मन अदालतमा त्यस्तो अपिलमाथिको सुनुवाइको पालो आउन सामान्यतया २ वर्षसम्म लाग्ने गर्दछ ।

यस्तै, अदालती पक्रिया महँगो समेत छ । जसले गर्दा भिसा अस्वीकृत हुने आवेदक अपिलमा जान निरुत्साहित हुने सरकारको अपेक्षा छ ।

पछिल्लो व्यवस्थाबाट जर्मनी जान चाहने वा त्यहाँ रहने नेपाली समेत प्रभावित हुने देखिन्छ ।