अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्वव्यापी खोप गठबन्धन गाभीमार्फत विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) लाई उपलब्ध गराइने अमेरिकी सरकारी कोष रोक्ने निर्णय गरेको छ।
अमेरिकाले भने गाभीका लागि ६० करोड डलर रकम उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालय र स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले संयुक्त वक्तव्य जारी गर्दै गाभीमार्फत डब्ल्यूएचओलाई अमेरिकी सरकारको कोष उपलब्ध नगराउने स्पष्ट गरेका छन्।
अमेरिकी प्रशासनका अनुसार ट्रम्पले स्वास्थ्य तथा मानव सेवा सचिव रोबर्ट केनेडी जुनियर र विदेशमन्त्री मार्को रुबियोलाई अमेरिकी समर्थन पुनः सुरु गर्नुअघि गाभीसँग सुधारका विषयमा वार्ता गर्न निर्देशन दिएका थिए। गाभीले आफ्नो सञ्चालक समिति तथा साझेदार देशहरूसँगको सहकार्यमा पारायुक्त खोपको स्थानमा पारामुक्त विकल्प प्रयोग गर्ने दिशामा काम गर्न सहमति जनाएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
विश्वभर खोपमा पहुँच विस्तार गर्ने गाभीका लागि अमेरिकी कोष पुनःस्थापनाको पक्षमा रहेकी रिपब्लिकन सिनेटर सुसान कोलिन्सले निर्णयको स्वागत गरेकी छन्। डब्ल्यूएचओसँग ट्रम्पको विवाद नयाँ भने होइन। सन् २०२० मा कोरोना महामारी व्यवस्थापनलाई लिएर ट्रम्पले डब्ल्यूएचओलाई अमेरिकी कोष रोक्न निर्देशन दिएका थिए। उनले डब्ल्यूएचओले चीनको पक्षमा महामारीसम्बन्धी ‘भ्रामक सूचना’ प्रवाह गरेको आरोप लगाएका थिए।
सन् २०१९ मा अमेरिका डब्ल्यूएचओको सबैभन्दा ठुलो दाता थियो र उसले सङ्गठनलाई ४० करोड डलरभन्दा बढी योगदान गरेको थियो। सन् २०२१ मा तत्कालीन राष्ट्रपति जो बाइडेनले ट्रम्पको निर्णय उल्टाउँदै डब्ल्यूएचओलाई अमेरिकी सहयोग पुनः सुरु गरेका थिए। तर दोस्रो कार्यकाल सुरु भएको पहिलो दिन, २० जनवरी २०२५ मा ट्रम्पले अमेरिका डब्ल्यूएचओबाट बाहिरिने घोषणा गर्दै अमेरिकी आर्थिक योगदान रोक्ने निर्णय गरेका थिए।
डब्ल्यूएचओले सदस्य राष्ट्रहरूको नियमित योगदान तथा विभिन्न साझेदारबाट प्राप्त स्वैच्छिक सहयोगमार्फत आफ्ना कार्यक्रम सञ्चालन गर्छ। सङ्गठनको वार्षिक बजेट करिब ३.४ अर्ब डलर रहेको छ। डब्ल्यूएचओको कोष पोलियो, क्षयरोग, एचआईभी, मलेरिया र दादुरालगायत रोगको रोकथाम तथा उपचारका लागि विशेषगरी स्वास्थ्य सेवा कमजोर रहेका देशमा प्रयोग हुँदै आएको छ। साथै, गाजा, सुडान र प्रजातान्त्रिक गणतन्त्र कंगोलगायत द्वन्द्वग्रस्त क्षेत्रमा स्वास्थ्य आपत्काल सम्बोधन गर्न पनि डब्ल्यूएचओले काम गर्दै आएको छ।