जापानको दक्षिण पश्चिमी क्षेत्रमा रहेको कुमामोतो प्रिफेक्चरमा मङ्गलवार गएको ६ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । स्थानीय अधिकारीहरूले बिहीबार मृत्युको पुष्टि गरेका हुन् ।
भूकम्पका कारण घर, विद्युत् प्रसारण लाइन तथा अन्य संरचनामा व्यापक क्षति पुगेको छ । उद्धारकर्मीहरू अझै भग्नावशेषमा फसेका सम्भावित जीवित व्यक्तिहरूको खोजीमा खटिएका छन् । सबैभन्दा ठुलो क्षति कासिमास्थित एइअन शपिङ मलमा भएको छ, जहाँ दोस्रो तलाको एक भाग भत्किँदा धेरै मानिस पुरिएका थिए ।भूकम्प गएको करिब एक घण्टापछि सोही मलमा शक्तिशाली विस्फोट पनि भएको थियो । मलका अध्यक्षका अनुसार यो ग्यास विस्फोट भएको हुनसक्ने अनुमान गरिएको छ, तर वास्तविक कारणको अनुसन्धान जारी छ ।
भूकम्पपछि करिब ९ हजार मानिस अस्थायी उद्धार केन्द्रमा बसिरहेका छन् भने ३० हजारभन्दा बढी घरधुरी अझै विद्युत् सेवाविहीन छन् । यसैबिच, कुमामोतो क्षेत्रमा आगामी केही दिन तापक्रम ३९ डिग्री सेल्सियससम्म पुग्न सक्ने पूर्वानुमान गरिएकाले उद्धारकर्मी र विस्थापितलाई हिटस्ट्रोकबाट बच्न पर्याप्त पानी पिउन र सावधानी अपनाउन आग्रह गरिएको छ ।
जापानका रक्षामन्त्री शिन्जिरो कोइजुमीले बुधबार ३०० वटा एयर कन्डिसनर कुमामोतो पठाइएको घोषणा गरेका छन् । जसमा १५० वटा उद्धार केन्द्रमा जडान गरिनेछ । भूकम्पपछि हालसम्म सयभन्दा बढी पराकम्प रेकर्ड गरिएका छन् । थप कम्पनको डरले धेरै स्थानीय बासिन्दा आफ्नै गाडीमा रात बिताइरहेका छन् ।
उद्धार टोलीले यात्सुशिरो शहरस्थित निप्पोन पेपरको कारखानामा पनि खोजी जारी राखेको छ । कारखानाको एक भाग भत्किँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । ११ जना फसेकामध्ये ७ जनाको सकुशल उद्धार गरिएको कम्पनीले जनाएको छ ।