रुसी आक्रमणमा युक्रेनमा २ बालबालिकासहित १३ जनाको मृत्यु

आप्रवासन आप्रवासन

 

 रुसले बिहीबार युक्रेनमाथि गरेको हवाई आक्रमणमा कम्तिमा १३ जनाको मृत्यु भएको छ । यस घटनामा किभमा एक जनाको मृत्यु भएको बताइएको छ । आक्रमण पश्चिमी शहर लभिभसम्म भएको थियो । यस्तोमा छिमेकी देश पोल्यान्ड आफ्नो हवाई क्षेत्रलाई सुरक्षित राख्न फाइटर जेट तयार राख्न बाध्य भएको थियो ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकाबाट फर्किएपछि यी आक्रमण भएका हुन् । आफूसँग भेटको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई प्याट्रियोट मिसाइल उपलब्ध गराउन सहमत भएको जेलेन्स्कीले बताएका थिए । युक्रेनको अधिकांश क्षेत्रमा हवाई रेड अलर्ट सुनिएका थिए । केही गैर–आवासीय स्थलमा आगो लागेको किभका मेयर भिताली क्लित्श्कोले टेलिग्राममा भनेका थिए ।

युक्रेनको राजधानी किभमा एक जनाको मृत्यु भएको र दुई जना घाइते भएको आपतकालीन सेवाले जनाएको छ । त्यसैगरी ड्निप्रोपेत्रोभ्स्क ओब्लास्ट र पोल्टाभा ओब्लास्ट मा दुई बालबालिकासहित थप ६ जनाको ज्यान गएको छ ।  राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको जन्मसहर क्रिभी रिहमा भएको आक्रमणमा ५ र १२ वर्षका दुई बालिका सहित ६ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

क्रिभी रिहको रक्षा परिषद्का प्रमुख ओलेक्सान्द्र विल्कुल का अनुसार रुसले इस्कान्देर–एम ब्यालिस्टिक मिसाइल प्रयोग गरी ठूलो परिवार बस्ने घरमा प्रत्यक्ष प्रहार गरेको थियो । उनले टेलिग्राममार्फत भने, ‘यो अत्यन्तै अँध्यारो रात थियो।’  उनका अनुसार मिसाइल रुसको भोरोनेझ ओब्लास्ट बाट प्रक्षेपण गरिएको थियो । भग्नावशेष हटाउने काम जारी रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने चेतावनी पनि उनले दिएका छन् ।

पश्चिमी युक्रेनको ल्भिभमा पनि रुसका मिसाइलले दुईवटा अपार्टमेन्ट भवनमा क्षति पुर्‍याएको छ। त्यहाँ कम्तीमा १५ जना घाइते भएका छन्, र उद्धारकर्मीहरू भग्नावशेषमा फसेकाहरूको खोजीमा जुटेका छन् । आक्रमणअघि राष्ट्रपति जेलेन्स्कीले ठूलो रूसी आक्रमण हुन सक्ने चेतावनी दिँदै युक्रेनी नागरिकको सुरक्षा सहयोगी राष्ट्रहरूले उपलब्ध गराउने हवाई प्रतिरक्षा प्रणालीमा निर्भर रहेको बताएका थिए ।