घातक रुसी हमलाकाबिच जेलेन्स्कीले गरे ‘जीवनको सुरक्षा’लागि अपिल

आप्रवासन आप्रवासन

 

रुसले युक्रेनका विभिन्न क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । 

सबैभन्दा ठूलो मानवीय क्षति र भौतिक क्षति पूर्वी क्षेत्रको द्निप्रोपेत्रोभ्स्क र पश्चिमी क्षेत्रको लिभभमा भएको जनाइएको छ ।बिहीबार बिहानसम्म जारी रातभरका आक्रमणहरू युक्रेनी सहरहरूमाथि रुसले गरेको पछिल्ला ठूला आक्रमणको शृंखलामध्येको एक हो। मस्कोले गर्मीयाममा यस्ता आक्रमणलाई तीव्र बनाएको छ र अहिले लगभग हरेक साता यस्ता आक्रमण भइरहेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणपछि रुसको 'आतंक'को निन्दा गर्दै 'जीवनको सुरक्षा गर्न सहयोग गर्नु महत्वपूर्ण रहेको' बताएका छन् । 'हाम्रा जनताको जीवन बचाउने विषयमा रुसी क्षेप्यास्त्रको खतराबाट सुरक्षा गर्नु सबैभन्दा महत्वपूर्ण काम हो,' उनले एक्समा लेखेका छन् । उनले यस्तो काम “युक्रेन वा कुनै एक देशको मात्रै जिम्मेवारीमा छोड्न नसकिने” पनि बताएका छन्।

जेलेन्स्कीका अनुसार रुसले ७० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो, जसमध्ये उल्लेख्य संख्या ब्यालिस्टिक क्षेप्यास्त्र थिए । साथै २८० भन्दा बढी आक्रमणकारी ड्रोन प्रयोग गरिएको थियो। युक्रेनी वायु रक्षा प्रणालीले तीमध्ये २६० भन्दा बढी ड्रोन खसालेको उनले बताए । जेलेन्स्कीले ब्यालिस्टिक क्षेप्यास्त्रविरुद्ध प्रयोग हुने प्रतिरोधी क्षेप्यास्त्रको आपूर्तिमा भएको ढिलाइ तथा आवश्यक समयमा सहायता उपलब्ध हुन नसक्दा पछिल्लो आक्रमणमा भएको विनाश र मानवीय क्षति बढेको बताए । उनले युक्रेनको वायु रक्षा प्रणालीलाई निरन्तर सहयोग गर्नु जीवनको सुरक्षा गर्न अत्यन्त महत्वपूर्ण रहेको पनि बताएका छन् ।

यसैबीच, रुसी रक्षा मन्त्रालयले आफ्ना वायु रक्षा प्रणालीले रातभरमा २५८ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ ।
रुसको पेन्जा क्षेत्रका गभर्नर ओलेग मेल्निचेन्कोले अनलाइन खुद्रा व्यापार कम्पनी वाइल्डबेरीजको एउटा गोदाममा आगलागी भएको बताएका छन् । घटनामा एक जना घाइते भएको र करिब २०० जना कामदारलाई सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिएका छन् । युक्रेनमाथि रुसको पछिल्लो आक्रमणले युद्धका क्रममा नागरिक क्षेत्र र पूर्वाधारमाथि बढ्दो जोखिमलाई पुनः उजागर गरेको छ । युक्रेनी पक्षले आफ्ना सहयोगी राष्ट्रहरूसँग थप वायु रक्षा प्रणाली र क्षेप्यास्त्र उपलब्ध गराउन निरन्तर आग्रह गर्दै आएको छ ।