एम्नेस्टीले भारतले इजरायललाई हतियार आपूर्ति जारी राख्दा ती सामग्री प्यालेस्टिनी नागरिकविरुद्ध गाजामा भइरहेको नरसंहारमा प्रयोग हुन सक्ने जोखिमलाई बेवास्ता गर्न नहुने जनाएको छ ।
भारतले इजरायललाई हतियार आपूर्ति जारी राखेको छ, यद्यपि ती हतियार गाजामा प्यालेस्टिनीविरुद्ध भइरहेको ‘नरसंहार’मा प्रयोग हुने ‘उच्च जोखिम’ रहेको एम्नेस्टी इन्टरनेसनलको एक प्रतिवेदनले जनाएको छ ।
बेलायतमा मुख्यालय रहेको मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले बिहीबार अल जजिरासँग साझा गरेको प्रतिवेदनमा भारतले इजरायली रक्षा क्षेत्रमा ‘घनिष्ठ र लाभदायक साझेदारी’ निर्माण गरेको तथा इजरायली सेनाका सैन्य कारबाहीलाई सहयोग गर्ने आपूर्ति शृंखलामा महत्वपूर्ण योगदानकर्ता बनेको उल्लेख गरेको छ ।
‘इजरायललाई हतियार र गोलाबारुद आपूर्ति’ शीर्षकको प्रतिवेदनमा सन् २०२३ अक्टोबर ७ यता भारतबाट इजरायल पठाइएका हतियार, गोलाबारुद, तिनका पार्टपुर्जा तथा अन्य सामग्रीका २,५९६ वटा ढुवानीको विश्लेषण गरिएको जनाइएको छ । अक्टोबर ७, २०२३ मा इजरायलले गाजामा व्यापक सैन्य आक्रमण सुरु गरेको थियो ।
प्रतिवेदनअनुसार भारतीय कम्पनीहरूले इजरायली सैन्य आपूर्तिकर्तालाई कम्तीमा ३,९०,५१६ वटा साना हतियारका पार्टपुर्जा, ५,६४,९७० वटा विस्फोटक हतियारका पार्टपुर्जा तथा सैन्य सवारीसाधनका २९८ वटा कम्पोनेन्ट आपूर्ति गरेका छन् । एम्नेस्टीका अनुसार विस्फोटक हतियारका पार्टपुर्जामा ड्रोनका वारहेड र तोपका गोलाका खोलजस्ता सामग्री पनि समावेश छन् ।
संस्थाले व्यापारिक ढुवानीसम्बन्धी तथ्याङ्कको विश्लेषणबाट हतियार, गोलाबारुद, तिनका पार्टपुर्जा र कम्पोनेन्टहरू इजरायली कम्पनीहरूमा कसरी पठाइएका थिए भन्ने पत्ता लगाएको जनाएको छ । प्रतिवेदनमा ती इजरायली कम्पनीहरूले उक्त सामग्री इजरायली सेनालाई आपूर्ति गर्ने गरेको उल्लेख गरिएको छ ।
एम्नेस्टीले आफ्ना अनुसन्धानकर्ताले सम्भावित रूपमा नागरिक प्रयोजनका लागि पठाइएका सामग्रीलाई व्यवस्थित रूपमा अलग राखेको जनाएको छ । अनुसन्धानमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त हार्मोनाइज्ड सिस्टम (एचएस) कोड ९३ र ८७१० अन्तर्गत वर्गीकृत भारतका हतियार, गोलाबारुद, तिनका पार्टपुर्जा तथा सहायक सामग्रीको निर्यात पहिचान गरिएको प्रतिवेदनमा उल्लेख छ ।
एम्नेस्टीका अनुसार भारत–इजरायल रक्षा सहकार्यले इजरायली सैन्य अभियानका लागि आवश्यक सामग्रीको आपूर्ति शृंखला निर्माणमा भारतको भूमिका महत्वपूर्ण बन्दै गएको देखाउँछ ।
प्रतिवेदनले गाजामा जारी युद्धका क्रममा इजरायली सेनालाई उपलब्ध गराइएका सामग्रीको सम्भावित प्रयोगबारे गम्भीर मानवअधिकारसम्बन्धी प्रश्न उठाएको छ । एम्नेस्टीले भारतले इजरायललाई हतियार आपूर्ति जारी राख्दा ती सामग्री प्यालेस्टिनी नागरिकविरुद्ध गाजामा भइरहेको ‘नरसंहार’मा प्रयोग हुन सक्ने जोखिमलाई बेवास्ता गर्न नहुने जनाएको छ ।