अपेक्षाभन्दा कमजोर गतिमा बढ्यो अमेरिकी अर्थतन्त्र

आप्रवासन आप्रवासन

 

विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र अमेरिकाको आर्थिक वृद्धिदर अपेक्षाकृत कमजोर देखिएको छ । सन् २०२६ को दोस्रो त्रैमासिक अवधिमा अमेरिकी आर्थिक वृद्धिदर अपेक्षाभन्दा कमजोर देखिएको छ । कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उपकरणहरूको आयात बढ्दा व्यापार घाटा फराकिलो बनेको र त्यसले आर्थिक वृद्धिमा दबाब परेको विश्लेषण गरिएको छ ।

अमेरिकी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अप्रिलदेखि जुनसम्म वार्षिक आधारमा १ दशमलव ५ प्रतिशतले बढेको छ । वृद्धिको यो दर अघिल्लो त्रैमासिकको २ दशमलव १ प्रतिशत वृद्धिभन्दा कम हो । सो अवधिमा अर्थतन्त्र करिब २.१ प्रतिशतले बढ्ने अर्थशास्त्रीहरूले गरेका थिए ।

अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार मे महिनामा देशको व्यापार घाटा ४२ दशमलव २ प्रतिशतले बढेर ७७ अर्ब ६० करोड डलर पुगेको थियो, जुन झन्डै एक वर्षयताकै उच्च स्तर हो । विशेषगरी कम्प्युटर उपकरण, सेमिकन्डक्टर र एआईसँग सम्बन्धित सामग्रीको आयात तीव्र रूपमा बढ्दा आयात निर्यातभन्दा धेरै भएको थियो । जुन महिनामा भने व्यापार घाटा केही घटेको थियो ।

अर्थतन्त्रको मुख्य आधार मानिने उपभोक्ता खर्च भने उल्लेखनीय रूपमा बढेको छ । दोस्रो त्रैमासिकमा उपभोक्ता खर्च वार्षिक आधारमा ३ दशमलव २ प्रतिशत ले बढेको छ, जबकि पहिलो त्रैमासिकमा यो वृद्धि शून्य दशमलव ५ प्रतिशत मात्र थियो । यसले करिब एक वर्षयताकै सबैभन्दा तीव्र वृद्धि जनाउनुका साथै दोस्रो त्रैमासिकको आर्थिक वृद्धिमा सबैभन्दा ठुलो योगदान दिएको छ ।

समीक्षा अवधिमा व्यावसायिक लगानी पनि मजबुत रहे पनि अघिल्लो त्रैमासको तुलनामा सुस्ताएको छ । जुन त्रैमासमा व्यवसायी लगानी ८ दशमलव ४ प्रतिशतले बढेको छ । अघिल्लो त्रैमासमा यो दर १० दशमलव ६ प्रतिशत थियो । विश्लेषकहरूका अनुसार बलियो रोजगारी बजार, शेयर बजारको वृद्धि, बढी कर फिर्ता र बचतले अमेरिकी उपभोक्ताको खर्च गर्ने क्षमता कायम राखेको छ ।

इरानसँगको युद्धका कारण अमेरिकामा इन्धनको भाउ बढ्दा महँगीमा दबाब परेको र उपभोक्ता तथा व्यवसायलाई भविष्यको योजना बनाउन कठिन भएको विश्लेषकहरूले बताएका छन् । यद्यपि, जुन महिनामा मुद्रास्फीति केही घटेकाले हालका लागि तलब वृद्धिले महँगीको प्रभावलाई केही हदसम्म सन्तुलन गरिरहेको जनाइएको छ ।