अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा हमास र अन्य सशस्त्र समूहको पूर्ण निःशस्त्रीकरणका लागि बोर्ड अफ पिसले सम्झौता गरेको बताएका छन्। हमासका एक वरिष्ठ अधिकारीले पनि बीबीसीलाई सङ्गठन गाजामा पूर्ण रूपमा निःशस्त्रीकरण गर्ने योजनामा सहमत भएको बताएका छन्। उनका अनुसार यसबारे औपचारिक वक्तव्य चाँडै सार्वजनिक गरिनेछ।
इजरायलले भने अहिलेसम्म सम्झौताबारे सार्वजनिक रूपमा प्रतिक्रिया दिएको छैन। ट्रम्पले निःशस्त्रीकरण प्रक्रिया पूरा हुँदै गएपछि इजरायली सेना गाजाबाट फिर्ता हुने बताएका छन्। उनले यसलाई गाजामा अन्ततः नयाँ प्यालेस्टिनी सरकारको शासन स्थापना गर्ने दिशामा 'महत्वपूर्ण कदम' भनेका छन्।
महिनौँको कठिन वार्तापछि हमासको सहमति
बोर्ड अफ पिसले यो सम्झौतालाई 'ऐतिहासिक सफलता' भनेको छ। बोर्डका अनुसार अमेरिकी राष्ट्रपतिको गाजामा नयाँ शासन, सुरक्षा, मानवीय राहत, पुनर्निर्माण र आर्थिक पुनरुत्थानको दृष्टिकोण अघि बढाउन महिनौँसम्म गहन र सद्भावपूर्ण वार्ता भएको थियो।
बोर्डले जारी गरेको वक्तव्यमा पहिलोपटक हमासले आफ्ना सबै हतियार त्याग्नका लागि कार्यान्वयनयोग्य योजनामा औपचारिक रूपमा प्रतिबद्धता जनाएको उल्लेख छ। त्यसपछि इजरायली सेना गाजाबाट फिर्ता हुने बताइएको छ।
हमासका वार्ता टोलीका एक वरिष्ठ सदस्यले बीबीसीलाई वार्ता “लामो र अत्यन्त कठिन” भएको बताए। उनका अनुसार हमासले आफ्ना हतियार इजरायललाई बुझाउनेभन्दा प्यालेस्टिनी निगरानीमा हतियारको सूची तयार पार्ने र सुरक्षित भण्डारण गर्ने भाषा प्रयोग गर्न जोड दिएको थियो।
योजनाअन्तर्गत गाजामा रहेका अन्य साना सशस्त्र समूहलाई पहिलो चरणमै निःशस्त्रीकरण गरिनेछ। त्यसपछि हमासले सुरुङ, हतियार भण्डार र हतियार उत्पादन केन्द्रजस्ता आफ्नो सैन्य पूर्वाधार क्रमशः हटाउनेछ। यस्तो प्रक्रिया लामो समय लाग्न सक्ने अधिकारीहरूले बताएका छन्।
इजरायली सेना क्रमशः फिर्ता हुने
बीबीसीले प्राप्त गरेको चार पृष्ठको ‘रोडम्याप’अनुसार हमासको निःशस्त्रीकरणलाई इजरायली सेनाको चरणबद्ध फिर्ती र अन्तर्राष्ट्रिय स्थिरीकरण बलको समर्थनमा नयाँ प्यालेस्टिनी सङ्क्रमणकालीन प्रशासन गठनसँग जोडिएको छ।
अमेरिकी अधिकारीहरूले यो योजना “शून्य विश्वास” र प्रमाणीकरणको सिद्धान्तमा आधारित रहेको बताएका छन्। अर्थात् हमास र इजरायलमध्ये कुनै पनि पक्षले आफ्नो प्रतिबद्धता पूरा नगरेसम्म अर्को चरणमा अघि बढ्न पाउने छैन।
योजनाका सबै चरण पूरा भएपछि गाजामा हतियारमाथि पूर्ण नियन्त्रण नयाँ प्यालेस्टिनी प्रशासनको हुने बताइएको छ।
अमेरिकी अधिकारीहरूले इजरायलले २०-बुँदे योजनाअनुसार गाजाबाट फिर्ता हुनुपर्नेमा आफूहरू विश्वस्त रहेको बताएका छन्। इजरायलले फिर्ता हुन अस्वीकार गरेमा राष्ट्रपति ट्रम्प “निकै निराश” हुने उनीहरूको भनाइ छ।
गाजामा उत्साहभन्दा आशंका बढी
सम्झौताको घोषणा भए पनि गाजामा भने यसको स्वागतमा खासै उत्साह देखिएको छैन। वर्षौँदेखि युद्ध, असफल युद्धविराम र पटक–पटक भत्किएका सम्झौताका कारण धेरै प्यालेस्टिनीहरू नयाँ राजनीतिक घोषणाप्रति गहिरो रूपमा सशंकित देखिन्छन्।
गाजाका केही बासिन्दाले सामाजिक सञ्जालमार्फत आफूहरूलाई वार्ताका प्राविधिक विवरणभन्दा सम्झौताले वास्तवमै युद्ध अन्त्य गर्छ कि गर्दैन, विस्थापित परिवार घर फर्किन पाउँछन् कि पाउँदैनन् र दीर्घकालीन राहत सुनिश्चित हुन्छ कि हुँदैन भन्ने चिन्ता रहेको बताएका छन्।
हमास र इजरायल दुवैप्रति जनविश्वास कमजोर रहेको बताइएको छ। विगतका सम्झौताहरू कार्यान्वयनमा जानुअघि नै भत्किएका कारण नयाँ सहमतिले वास्तविक रूपमा युद्ध अन्त्य गर्छ कि गर्दैन भन्ने प्रश्न अझै कायम छ।
यद्यपि, यदि सम्झौता पूर्ण रूपमा कार्यान्वयन भयो भने, झन्डै तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्ने र गाजामा व्यापक राजनीतिक प्रक्रियाको बाटो खोल्ने दिशामा यो अहिलेसम्मकै सबैभन्दा विश्वसनीय कदम बन्न सक्ने विश्लेषकहरूको भनाइ छ।