इङ्ल्यान्डको आधाभन्दा बढी भूभागमा खडेरी, वातावरण एजेन्सीद्वारा घोषणा

आप्रवासन आप्रवासन

 

अत्यधिक गर्मी र सुख्खा मौसमका कारण देशको जलस्रोतमा दबाब बढ्दै गएपछि इङ्ल्यान्डको आधाभन्दा बढी भूभागमा खडेरी घोषणा गरिएको छ । 

वातावरण एजेन्सी (ईए)ले गरेको घोषणा मध्य, पूर्वी र दक्षिणी इङ्ल्यान्डका धेरै क्षेत्रलाई समेट्छ । यो घोषणाले पानीको प्रयोगमा थप प्रतिबन्ध लगाउन सकिने संकेत गरेको छ ।

एजेन्सीका अनुसार खडेरीको प्रभाव यसअघि नै देखिन थालेको छ । नदीमा पानीको बहाव घटेको, कृषि बाली समयअगावै भित्र्याउनुपरेको र डढेलोको जोखिम बढेको छ । हालसम्म २ करोडभन्दा बढी बासिन्दामा बगैँचामा पानी हाल्न प्रयोग गरिने पाइप (होजपाइप) प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।

नेचुरल रिसोर्सेस वेल्सका अनुसार उत्तर वेल्स र अपर सेभर्न नदी बेसिनमा पनि गत साता खडेरीको अवस्था घोषणा गरिएको थियो । स्कटल्यान्डमा औपचारिक रूपमा खडेरी घोषणा गरिँदैन । त्यहाँ ‘पानीको अभाव’को निगरानी गरिन्छ । स्कटल्यान्ड वातावरण संरक्षण एजेन्सीका अनुसार पूर्वी स्कटल्यान्डका केही क्षेत्र ‘गम्भीर पानी अभाव’को सबैभन्दा चरम श्रेणीमा छन् ।

उत्तरी आयरल्यान्डमा भने अहिले खडेरीको अवस्था छैन ।

इङ्ल्यान्डका खडेरीग्रस्त क्षेत्र

इङ्ल्यान्डमा खडेरी घोषणा गरिएका क्षेत्रहरूमाः इस्ट एङ्ग्लिया, हर्टफोर्डसायर र सम्पूर्ण लन्डन, टेम्स भ्याली, ह्याम्पसायर र आइल अफ वाइट, डेभन र कर्नवाल, वेस्ट मिडल्यान्ड्स, तथा वेस्सेक्स अन्तर्गत डोर्सेट, सोमरसेट, विल्टसायर र दक्षिण ग्लुसेस्टरसायर परेका छन् ।

खडेरीको एउटै सर्वमान्य परिभाषा छैन । सामान्यतया यसले असामान्य रूपमा लामो समयसम्म रहने सुख्खा मौसमलाई जनाउँछ, जसले मानिस, प्रकृति र वातावरणमा असर पार्न सक्छ ।

इङ्ल्यान्डमा खडेरी घोषणा गर्ने वा नगर्ने निर्णय गर्नुअघि वातावरण एजेन्सीले यी सबै पक्षलाई विचार गर्छ । खडेरी घोषणा हुनु भनेको सुख्खा अवस्थाप्रति वातावरण एजेन्सीले आफ्नो प्रतिक्रिया थप तीव्र बनाएको सार्वजनिक संकेत हो । यसअन्तर्गत निगरानी बढाउने तथा नदी र भूमिगत जलस्रोतबाट कति पानी निकाल्न पाइन्छ भन्नेमा नियन्त्रण कडा पार्न सकिन्छ ।

पहिले नै प्रतिबन्ध लागू नभएका क्षेत्रमा होजपाइप प्रयोगमा प्रतिबन्ध लगाउन सकिने अवस्था पनि आउन सक्छ ।

वातावरण एजेन्सीकी पानीसम्बन्धी निर्देशक तथा राष्ट्रिय खडेरी समूहकी अध्यक्ष हेलेन वेकहमले भनिन्, ‘तातो र सुख्खा मौसमका कारण अहिले हामी प्रकृतिले पुनः भर्न सक्ने गतिभन्दा छिटो पानी प्रयोग गरिरहेका छौँ ।’

‘फ्ल्यास खडेरी’

यस वर्षको खडेरी केही असामान्य देखिएको छ । जनवरी र फेब्रुअरीमा बेलायतका अधिकांश क्षेत्रमा अत्यधिक वर्षा भएको थियो, जसले जलाशय र भूमिगत जलस्रोतमा पानी पुनः भर्न सहयोग गरेको थियो ।

तर वसन्त ऋतुको अन्त्य र गर्मीमा मौसम असाधारण रूपमा तातो र सुख्खा भयो । छोटो समयमै अत्यधिक भिजेको अवस्थाबाट अत्यधिक सुख्खा अवस्थामा पुग्ने यस्तो परिवर्तनलाई कहिलेकाहीँ ‘क्लाइमेट ह्विपलास’ अर्थात् जलवायुको तीव्र उलटफेर भनिन्छ ।

विशेषगरी जुलाईमा हालसम्म इङ्ल्यान्डमा औसत वर्षाको केवल ७ प्रतिशत मात्र भएको छ । दक्षिणी इङ्ल्यान्डमा यो दर झन् कम, केवल १ प्रतिशत रहेको छ । डेभन र ह्याम्पसायरका केही क्षेत्रमा एक महिनाभन्दा बढी समयदेखि वर्षा भएको छैन ।

मेट अफिसका प्रमुख मौसमविद् विल ल्याङले भने, ‘पछिल्ला केही महिनामा इङ्ल्यान्डका अधिकांश क्षेत्रमा देखिएको न्यानो र असाधारण रूपमा सुख्खा अवस्था अझै पनि गम्भीर प्रभाव पारिरहेको छ ।’

अगस्टको सुरुआतमा देशका केही क्षेत्रमा वर्षा हुन सक्ने सम्भावना भए पनि सुख्खा अवस्था उल्लेखनीय रूपमा सुधार्ने गरी लामो समयसम्म निरन्तर वर्षा हुने कुनै संकेत नरहेको मेट अफिसले जनाएको छ ।

कम वर्षा र लामो समयसम्मको उच्च तापक्रमका कारण वाष्पीकरण बढ्दा माटो, वनस्पति र नदीमा रहेको पानीको भण्डार तीव्र गतिमा घटेको छ ।

वातावरण एजेन्सीका अनुसार यी अवस्थाले ‘फ्ल्यास खडेरी’ निम्त्याएका छन् । यस्तो खडेरी लामो समय वा वर्षौँ लगाएर होइन, अचानक सुरु हुन्छ ।

बुधबारको घोषणासँगै पछिल्लो पाँच वर्षमा इङ्ल्यान्डमा खडेरी घोषणा भएको यो तेस्रो पटक हो । सन् २०२२ र  २०२५ मा खडेरी घोषणा भएको थियो ।

खडेरी प्राकृतिक रूपमा पनि हुने गर्छ । तर वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले यसको जोखिम बढाइरहेको छ । गर्मीमा बढ्दो तापक्रमका कारण माटो छिटो सुक्ने भएकाले खडेरी अझ गम्भीर र लामो समयसम्म रहन सक्छ ।

केही अनुसन्धानकर्ताले पानीसम्बन्धी पूर्वाधारमा पर्याप्त लगानी नहुनुलाई पनि समस्या मानेका छन् । वातावरण एजेन्सीले यसअघि तत्काल कदम नचालेमा शताब्दीको मध्यसम्म इङ्ल्यान्डको सार्वजनिक खानेपानी आपूर्तिमा दैनिक ५ अर्ब लिटरसम्मको कमी हुन सक्ने चेतावनी दिएको थियो ।

न्यु क्यासल विश्वविद्यालयकी प्राध्यापक हेली फाउलरले भनिन्, ‘यो खडेरी केवल वर्षाको कमीका कारण भएको होइन । यो तातिँदो जलवायुका कारण बढेको तापक्रम, पानीको बढ्दो माग, पुरानो पूर्वाधार र चुहावटमार्फत खेर गइरहेको अत्यधिक पानीको परिणाम हो ।’

सरकारले पानी उद्योग सुधार गर्ने प्रतिबद्धता जनाएको छ । पानी आपूर्ति कम्पनीहरूले पनि लगानीका योजना घोषणा गरेका छन्, तर त्यसको परिणामस्वरूप उपभोक्ताको पानीको बिल बढिरहेको छ ।

खाद्य उत्पादन ‘झन् जोखिमपूर्ण र महँगो’

सुख्खा अवस्थाले प्रकृतिमा पनि गम्भीर असर पारेको छ । नदीमा पानीको बहाव कम हुँदा एटलान्टिक साल्मन माछालाई नदीको माथिल्लो भागतर्फ जान कठिन भएको छ । कृषिक्षेत्र पनि प्रभावित भएको छ ।

नेसनल फार्मर्स युनियन अफ इङ्ल्यान्ड एन्ड वेल्सका उपाध्यक्ष पल टोम्पकिन्सले भने, ‘किसान र उत्पादकहरूले सधैँ मौसमको सामना गर्नुपरेको छ । तर अहिले उनीहरूले भोगिरहेको अवस्था जलवायु परिवर्तन व्यवहारमै देखिएको उदाहरण हो । अझ चरम बन्दै गएको मौसमले देशका लागि खाद्यान्न उत्पादन गर्न कठिन, जोखिमपूर्ण र महँगो बनाइरहेको छ ।’

उनले खडेरीको विषय ‘सबैका लागि महत्वपूर्ण हुनुपर्ने’ बताए, किनकि यसले देशको खाद्य सुरक्षामा प्रत्यक्ष असर पार्छ । 

देशका केही क्षेत्रमा यस वर्षको चौथो गर्मी लहरसमेत सुरु भएको छ । बेलायतका केही क्षेत्रमा एम्बर र पहेँलो स्तरका स्वास्थ्य चेतावनी जारी भएका छन् । बुधबार दक्षिणपूर्वी इङ्ल्यान्डका केही क्षेत्रमा तापक्रम ३५ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको थियो ।

तातो र सुख्खा मौसमले डढेलो फैलिनका लागि अनुकूल अवस्था सिर्जना गरेको छ । राष्ट्रिय अग्नि प्रमुख परिषद्ले बेलायतभर डढेलोको जोखिम अझै उच्च रहेको चेतावनी दिएको छ ।

परिषद्का अनुसार पछिल्ला दुई सातामा इङ्ल्यान्ड र वेल्समा २०० भन्दा बढी डढेलोका घटना रिपोर्ट भएका छन् । 

यसैबीच, मेट अफिसले गत महिना कायम भएको जुन महिनाको नयाँ तापक्रम कीर्तिमान प्रारम्भिक अनुमानभन्दा पनि उच्च रहेको जनाएको छ । प्रमाणीकरण प्रक्रियापछि सन् २०२६ जुन २६ मा नर्फोकको लिङवुडमा मापन गरिएको यसअघि रिपोर्ट गरिएको ३७.७ डिग्री सेल्सियस तापक्रमलाई संशोधन गरी ३८.० डिग्री सेल्सियस कायम गरिएको छ ।

यससँगै बेलायतमा जुन महिनामा यसअघि कायम रहेको ३५.६ डिग्री सेल्सियसको उच्च तापक्रम कीर्तिमान पनि तोडिएको छ ।