रुसले उत्तर कोरियाली ब्यालिस्टिक मिसाइल प्रयोग गरेको जेलेन्स्कीको दाबी

आप्रवासन आप्रवासन

 

 युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले पछिल्लो हवाई आक्रमणमा उत्तर कोरियाबाट प्राप्त ब्यालिस्टिक मिसाइल प्रयोग गरेको दाबी गरेका छन्।  उनका अनुसार उक्त मिसाइलले क्रिभी रिह नजिकको रादुश्ने गाउँमा रहेको एक घरमा प्रहार गर्दा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा दुई अभिभावक र उनीहरूका तीन सन्तान रहेका छन् । जेलेन्स्कीका अनुसार परिवारका अन्य चार बालबालिका तथा डेढ वर्षका नाति को अवस्थाबारे तत्काल स्पष्ट जानकारी प्राप्त भएको छैन। सैन्य स्रोतका अनुसार रुसले यसअघि पनि उत्तर कोरियाली मिसाइल प्रयोग गरेको भए पनि झन्डै एक वर्षपछि पहिलो पटक यस्तो हतियार पुनः प्रयोग गरिएको मानिएको छ।

यसले रुससँग उत्तर कोरियाबाट प्राप्त नयाँ मिसाइल भण्डार रहेको र त्यसको प्रयोग बढाउन थालेको सङ्केत मिल्ने विश्लेषण गरिएको छ। युक्रेनी अधिकारीहरूका अनुसार रुसले रातभरि दर्जनौँ मिसाइल र सयौँ ड्रोन प्रयोग गरेर विभिन्न स्थानमा आक्रमण गरेको थियो। ती आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ । हाल युक्रेनी सेनाले आधुनिक हवाई प्रतिरक्षा प्रणालीको अभाव झेलिरहेको बताइएको छ।