रुसका तीन वटा तेल प्रशोधन केन्द्र र जहाजमा युक्रेनको आक्रमण

आप्रवासन आप्रवासन

 

युक्रेनले रुसका तीन वटा तेल प्रशोधन केन्द्र र एक प्रतिबन्धित मालवाहक जहाजलाई ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।  युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनी ड्रोनले रुसको बाश्कोर्तोस्तान गणराज्यस्थित तीन वटा तेल प्रशोधन केन्द्रमा सफल आक्रमण गरेको बताएका हुन् ।

ती रिफाइनरीहरू युक्रेनको सीमाबाट करिब १ हजार ६०० किलोमिटर टाढा रहेका छन् र प्रत्येक वर्ष लाखौँ टन तेल प्रशोधन गर्ने क्षमता राख्ने गरेको बताइएको छ । जेलेन्स्कीले यानिना नामक प्रतिबन्धित रुसी कन्टेनर जहाज पनि युक्रेनी ड्रोन आक्रमणपछि कालो सागरमा डुबेको दाबी गरेका छन् ।

यद्यपि, जहाज सञ्चालन गर्ने रुसी कम्पनीले त्यसमा जमेको खाद्यान्न र निर्माण सामग्रीजस्ता नागरिक प्रयोजनका सामान मात्र रहेको जनाएको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का अनुसार रुसको नियन्त्रणमा रहेको जापोरिझ्झिया आणविक विद्युत् केन्द्रले करिब दुई घण्टासम्म बाह्य विद्युत् आपूर्ति गुमाएको छ ।

रुस र युक्रेनबिच युद्ध सुरु भएयता यस्तो घटना २३ औँ पटक भएको बताइएको छ । विद्युत् केन्द्र बन्द भए पनि त्यहाँ रहेका आणविक सामग्री सुरक्षित राख्न शीतलन प्रणाली सञ्चालन गर्न बाह्य विद्युत् आवश्यक पर्ने बताइएको छ । युक्रेनले क्रिमियातर्फको ऊर्जा र आपूर्ति प्रणालीमा लगातार आक्रमण गरेपछि त्यहाँका धेरै क्षेत्रमा लामो समयदेखि बिजुली र इन्धन अभाव भएको छ ।

यसको असर स्वरूप सर्वसाधारणले सामूहिक भान्सामा पकाइएको तातो खाना लिन सडकमा लाइन बस्नुपरेको छ । स्थानीय बासिन्दाहरूका अनुसार धेरै दिनसम्म बिजुली नहुँदा घरमा खाना पकाउन कठिन भएको छ । यसैबिच, रुसी आक्रमणबाट युक्रेनको राजधानी किभमा मृत्यु हुनेको सङ्ख्या बढेको छ भने क्रिमियामा बिजुली र इन्धन सङ्कटका कारण सर्वसाधारणले खाना लिन लामो लाइन बस्नुपरेको छ ।

रुसले शुक्रबार राति किभमा गरेको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । सोलोमियान्स्की जिल्लामा पाँचतले आवासीय भवनमा क्षति पुग्दा दुई जनाको मृत्यु भएको छ । डार्नित्स्की जिल्लामा थप सात जनाको ज्यान गएको र १४ जना घाइते भएका छन् । उद्धार टोलीले धेरै मानिसलाई भवनबाट सुरक्षित बाहिर निकालेको जनाएको छ ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनलाई थप प्याट्रियट हवाई प्रतिरक्षा मिसाइल उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग पुनः आग्रह गरेका छन् । उनका अनुसार पछिल्लो रुसी आक्रमणमा प्रहार गरिएका २७ वटा ब्यालिस्टिक मिसाइलमध्ये युक्रेनले केवल एउटा मात्र खसाल्न सफल भएको र हवाई प्रतिरक्षा प्रणालीको अभावले ठुलो जनधनको क्षति भइरहेको छ ।