क्युबाको राष्ट्रिय विद्युत् प्रणाली (ग्रिड) आइतबार राति अचानक ध्वस्त भएपछि करिब एक करोड जनसंख्या रहेको देशभर विद्युत् आपूर्ति अवरुद्ध भएको छ। पछिल्ला दिनमा लगातार बढिरहेका विद्युत् अवरोधबीच यो अर्को ठूलो संकट बनेको हो।
सरकारी विद्युत् कम्पनी युनियन इलेक्ट्रिका दे क्युबाले सामाजिक सञ्जालमार्फत राष्ट्रिय ग्रिड पूर्ण रूपमा बन्द भएको पुष्टि गरेको छ। तर, ग्रिड कहिलेदेखि पुनः सञ्चालनमा आउने भन्नेबारे कुनै विस्तृत जानकारी दिएको छैन। यो घटना जुलाई महिनामा भएका तीनवटा राष्ट्रव्यापी विद्युत् अवरोधपछि भएको हो। विज्ञहरूका अनुसार अमेरिकाद्वारा लगाइएको तेलसम्बन्धी प्रतिबन्ध र पुरानो ऊर्जा पूर्वाधारका कारण क्युबाको विद्युत् प्रणाली निरन्तर कमजोर बन्दै गएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाइएपछि क्युबातर्फ हुने तेल आपूर्तिमा कडा प्रतिबन्ध लगाएका थिए। त्यसपछि क्युबाले आफ्नो मुख्य इन्धन स्रोत गुमाएको छ। साथै, मेक्सिकोबाट हुने तेल आपूर्ति पनि अमेरिकी दबाबका कारण रोकिएको बताइएको छ।
इन्धन अभावका कारण क्युबाले ऊर्जा क्षेत्रमा केही सुधारका कदम पनि चाल्न थालेको छ। सरकारले पहिलो पटक विदेशी साझेदारीमा इन्धन आयात गर्न अनुमति दिएको छ भने करिब २०० निजी क्युबाली व्यवसायलाई थोक इन्धन वितरणमा सहभागी हुन अनुमति दिएको छ।