युद्धविराम सम्झौतामा खलल पुर्याउन इजरायलले गाजा क्षेत्रमा आक्रमण गरेको प्यालेस्टिनी समूह हमासले आरोप लगाएको छ । हमासले जारी गरेको विज्ञप्तिमा इजरायलको जानाजानी गरिएको सैन्य आक्रमणको तीव्रताले मध्यस्थकर्ताहरू, विशेषगरी अमेरिकासँग भएको समझदारीलाई अवरुद्ध गर्न खोजेको दाबी गरिएको छ ।
ती समझदारीहरू युद्धविराम सम्झौताको दोस्रो चरण लागू गर्नका लागि भएको बताइएको छ । इजरायलको अन्धाधुन्ध र आपराधिक बमबारीका कारण गाजामा सम्पूर्ण परिवारहरूकै मृत्यु भएको आरोप लगाउँदै मध्यस्थकर्ताहरूलाई इजरायलमाथि तत्काल दबाब सिर्जना गरेर आक्रमण रोक्न हमासले आग्रह गरेको छ ।
यसैबिच, आइतबार इजरायली सेनाले गाजामा आक्रमण जारी राख्दा कम्तीमा १९ जना प्यालेस्टिनीको मृत्यु भएको जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै युद्धविराम सम्झौताको दोस्रो चरण कार्यान्वयनका लागि नयाँ मार्गचित्र (रोडम्याप) सार्वजनिक गरेका थिए । उक्त प्रस्तावअनुसार हमासले आफ्ना हतियार त्याग्नुपर्ने अनि इजरायली सेना गाजाबाट चरणबद्ध रूपमा फिर्ता हुनुपर्ने व्यवस्था समावेश छ ।