अमेरिकामा अपराध दोषी ठहरमा अभियोग लागेका १२४ नेपाली आइसद्वारा पक्राउ

आप्रवासन आप्रवासन

 


ट्रम्प प्रशासनको पहिलो १३ महिनामा अमेरिकी अध्यागमन एजेन्सी ‘आइस’ ले आपराधिक अभियोगको सामना गरिरहेका र पहिले नै अपराधमा दोषी ठहरिएका १२४ जना नेपालीहरूलाई पक्राउ गरेको छ। डिपोर्टेसन डाटा प्रोजेक्टले संकलन र प्रशोधन गरेको आइसको तथ्याङ्क अनुसार, फेब्रुअरी २०२५ देखि फेब्रुअरी २०२६ सम्म आइसले अमेरिकामा ३८८ जना नेपाली नागरिकलाई पक्राउ गरेको थियो। जसमध्ये १२४ जना अर्थात् कुल पक्राउ परेकाको करिब ३१।९ प्रतिशत मात्र आपराधिक अभियोगको सामना गरिरहेका वा पहिले नै अपराधमा दोषी ठहरिएका व्यक्तिहरू रहेका छन्।

यस्तै आइसको आन्तरिक रेकर्ड अनुसार, पक्राउ परेका १२४ मध्ये केवल ५३ जना मात्र पहिले नै अपराधमा दोषी ठहरिएका थिए भने बाँकी ७१ जना आपराधिक अभियोगको सामना गरिरहेका व्यक्तिहरू रहेका थिए। अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले आइसद्वारा पक्राउ गरिएका व्यक्तिहरूमध्ये ७० प्रतिशत आपराधिक अभियोगको सामना गरिरहेका र पहिले नै अपराधमा दोषी ठहरिएकाहरू रहेको दाबी गर्दै आए तापनि वास्तविक तथ्याङ्क भने सरकारी दाबीभन्दा फरक देखिएको छ।

साथै पक्राउ परेका नेपालीहरूमध्ये २६४ जनामाथि अध्यागमन कानून उल्लङ्घनको मात्र अभियोग लगाइएको छ। तथ्याङ्क अनुसार आइसद्वारा पक्राउ परेका ३ जना नेपालीमध्ये १ जनाभन्दा कमको मात्र पक्राउ परेको समयमा आपराधिक सजाय वा विचाराधीन मुद्दा रेकर्डमा रहेको थियो।

यी पक्राउहरूको मासिक ढाँचामा उतारचढाव आए तापनि होमल्यान्ड सेक्युरिटीले दाबी गरेको ७० प्रतिशतको आपराधिक थ्रेसहोल्ड भने कहिल्यै छुन नसकेको देखिएको छ। सन् २०२५ मा नेपालीहरूको पक्राउ संख्या फेब्रुअरीमा २९, मार्चमा १५, अप्रिलमा सबैभन्दा कम ५, मेमा २७, जुनमा ३९, जुलाईमा २७, अगस्टमा ३५, सेप्टेम्बरमा ३५, अक्टोबरमा ३८, नोभेम्बरमा सबैभन्दा बढी ४८ र डिसेम्बरमा ४२ जना पुगेको थियो। त्यस्तै, सन् २०२६ को जनवरीमा २९ र फेब्रुअरीमा १९ जना नेपालीहरू पक्राउ परेका थिए।


साथै यो समूहमा पुरुषहरूको बाहुल्यता थियो, जसमा ३७० पुरुष, १७ महिला र १ जना ‘अज्ञात’ भनी सूचीबद्ध गरिएका छन्। कुल पक्राउ परेका ३८८ जनामध्ये १७४ जनालाई अन्तिम देशनिकालाको आदेश भइसकेको थियो भने १९५ जनाको अन्तिम आदेश हुन बाँकी थियो। साथै, १९ जनाको स्थिति अज्ञात थियो। ३८८ मध्ये १५६ जनालाई नेपाल फिर्ता पठाइसकिएको छ। उनीहरु सन् २०२५ को जनवरीदेखि अमेरिकाबाट डिपोर्ट भएका झण्डै ८ सय नेपालीहरुमध्येका हुन्।


सिरैक्युज युनिभर्सिटीको ‘ट्रान्झ्याक्सन रेकर्ड्स एक्सेस क्लियरिङहाउस’ को अर्को राष्ट्रव्यापी अध्ययनले पनि जुलाई ११, २०२६ सम्म आइसको हिरासतमा रहेका विश्वभरका ६५,७६५ जना आप्रवासीमध्ये ४६,४३६ जना अर्थात् ७०।६५ प्रतिशतको कुनै आपराधिक सजाय नभएको देखाएको छ। आपराधिक सजाय पाएकाहरूमध्ये धेरैजसो सवारी नियम उल्लङ्घन जस्ता सानातिना कसुरमा मात्र संलग्न रहेको देखिएको थियो। कुल हिरासतमा रहेकाहरूमध्ये ५८,२३१ जना अर्थात् ८९ प्रतिशत आइसले नै पक्राउ गरेको थियो भने ७,५३४ जना अर्थात् ११ प्रतिशतलाई सीबीपीले पक्राउ गरेको उल्लेख गरिएको छ ।