इरानले स्ट्रेट अफ होर्मुज हुँदै जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न ओमानसँग अस्थायी समुद्री मार्ग निर्माणबारे वार्ता गरिरहेको जनाएको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सोमबार दिएको जानकारीअनुसार दुवै देशबीच सकेसम्म छिटो परामर्श गरेर जहाजहरूको सुरक्षित आवागमनका लागि अस्थायी मार्ग तय गर्ने प्रयास भइरहेको छ । उनका अनुसार प्रस्तावित मार्ग स्थायी नभई हालको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै अस्थायी रूपमा सञ्चालन गरिनेछ ।
यसको मुख्य उद्देश्य हर्मुज जलडमरूमध्यबाट हुने अन्तर्राष्ट्रिय जहाज आवागमनलाई सुरक्षित बनाउनु हो । इरान अमेरिकासँग कुनै वार्तामा नरहेको पनि बाघेईले स्पष्ट पारे । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सोमबार इरानसँग वार्ता पुनः सुरु हुने बताएका छन् । ट्रम्पले एक दिनअघि मात्रै इरानमाथि गर्न लागिएको ठूलो सैन्य आक्रमण अन्तिम समयमा रोकिएको दाबी गरेका थिए ।