जन सुराज पार्टीका संस्थापक तथा चुनावी रणनीतिकार प्रशान्त किशोरले बाँकीपुर विधानसभा सिटको उपचुनाव जितेका छन्। भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन राज्यसभामा निर्वाचित भएपछि यो सिट खाली भएको थियो।
बाँकीपुर विधानसभा सिटका लागि गत जुलाई ३० मा मतदान भएको थियो। यस क्रममा ३५ प्रतिशतभन्दा कम मतदान भएको थियो, जसलाई लिएर विभिन्न आशंका व्यक्त गरिएका थिए।
सबै ३२ चरणको मतगणना पूरा भएपछि प्रशान्त किशोरले भाजपा उम्मेदवार नीरज कुमारलाई १९,३२४ भन्दा बढी मतले हराउँदै जित हासिल गरेका छन्। उनले जम्मा ६४,१५१ मत पाए भने भाजपा उम्मेदवारले ४४,८२७ मत प्राप्त गरे।
बिहारका मुख्यमन्त्री सम्राट चौधरीले एक्समा प्रशान्त किशोरलाई बधाई दिँदै लेखेका छन्, ‘लोकतन्त्रको महापर्वमा बाँकीपुर विधानसभा उपचुनावमा जनताले जन सुराजलाई रोजेका छन्। म जनताको यो निर्णयको सम्मान गर्दै श्री प्रशान्त किशोरजीलाई उहाँको जितमा हार्दिक बधाई दिन्छु।’
विश्लेषकहरू प्रशान्त किशोरको जितका पाँच कारण औँल्याइरहेका छन्:
१. विद्यार्थी आन्दोलन
बाँकीपुरमा मतदानका लागि चुनाव प्रचार चलिरहेको समयमा देशको राजधानी दिल्लीमा ककरोच जनता पार्टी (सीजेपी) ले निट प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेको थियो।
जुलाई २० मा ‘चलो संसद’ मार्चका क्रममा सीजेपीका आन्दोलनकारीमाथि दिल्ली प्रहरी र सुरक्षा बलले लाठीचार्ज गरे। यसको प्रभाव देशका धेरै भागमा देखियो। यसपछि देशका अन्य भागसहित जुलाई २२, २३ र २५ मा बिहारका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन भए।
जुलाई २५ मा ‘बिहार बन्द’ आह्वान गरियो। सिवान जिल्लामा आन्दोलनकारीमाथि कारबाही गर्दा एके–४७ बाट गोली चलेको एउटा भिडियो पनि भाइरल भयो। यस क्रममा राज्यका विभिन्न ठाउँबाट धेरै आन्दोलनकारीलाई जेल पठाइयो।
पटनाका वरिष्ठ पत्रकार लव कुमार मिश्राले बीबीसी न्युज हिन्दीसँग कुरा गर्दै सीजेपीको प्रदर्शनले यस चुनावमा पनि असर पारेको बताएका छन्। उनी भन्छन्, ‘दिल्लीको प्रदर्शनपछि बिहारका विभिन्न ठाउँमा प्रदर्शन भए, सयौँ विद्यार्थीलाई पक्राउ गरियो। जेपी आन्दोलनपछि पहिलो पटक विद्यार्थीहरू राजभवन वा मुख्यमन्त्री सचिवालयसम्म पुगेको देखियो। यो सम्पूर्ण क्षेत्र बाँकीपुर सिटमै पर्छ। दिल्लीको प्रदर्शनको असर धेरै हदसम्म यस चुनावमा परेको छ।’
वरिष्ठ पत्रकार सुरुर अहमद पनि यस तर्कमा सहमति जनाउँदै यस चुनावमा विद्यार्थीको प्रदर्शन एउटा महत्त्वपूर्ण तत्त्व रहेको बताउँछन्।
२. भरत तिवारीको ‘इन्काउन्टर’
बिहारको भोजपुर जिल्लाअन्तर्गत शाहपुर थाना क्षेत्रको बिलौटी गाउँका २६ वर्षीय युवक भरत भूषण तिवारीको जुन १७ मा कथित प्रहरी इन्काउन्टरपछि उपचारका क्रममा मृत्यु भएको थियो। भोजपुरका एसपीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको थियो, ‘प्रहरी टोलीले आफ्नो र जनताको सुरक्षाका लागि गोली चलाएको थियो, जुन भरत भूषणको खुट्टामा लागेको थियो।’
यद्यपि भरत तिवारीका परिवारले प्रहरीको यो दाबी खारेज गरेका थिए र यस घटनालाई सुनियोजित षड्यन्त्र भनेका थिए। लव कुमार मिश्राका अनुसार भरत तिवारी प्रकरणमा न्यायिक आयोग गठन भएपछि पनि कुनै कारबाही भइरहेको थिएन। यसैबिच उनको परिवारले पटनामा मुख्यमन्त्री सम्राट चौधरीसँग भेट गरेका थिए।
उनी भन्छन्, ‘सम्राट चौधरीले यस मामिलामा धेरै समयपछि कदम चाले, एसटीएफका जवानलाई निकै समयपछि पक्राउ गरियो। भरत तिवारीका परिवार प्रशान्त किशोरको चुनाव प्रचारमा सहभागी हुने हल्ला पनि चल्यो तर त्यस्तो भएन। यद्यपि यस घटनाले जनताको भावनालाई भने झकझकायो।’
३. के भाजपाभित्र आन्तरिक कलह थियो?
बाँकीपुर विधानसभा उपचुनावका लागि भाजपाले अभिषेक कुमार सिन्हालाई आफ्नो उम्मेदवार बनाएको थियो र उनले मनोनयन पनि दर्ता गरेका थिए। तर भोलिपल्टै अभिषेक कुमारले आफ्नो मनोनयन फिर्ता लिए। उनको ठाउँमा नीरज कुमार सिन्हालाई उम्मेदवार बनाइयो।
सुरुर अहमद र लव कुमार मिश्रा दुवैको बुझाइमा यस सिटबाट बिहार भाजपाका धेरै वरिष्ठ नेता चुनाव लड्न चाहन्थे तर उम्मेदवार भने एकदमै नयाँ अनुहारलाई बनाइयो।
सुरुर अहमद भन्छन्, ‘यस सिटमा कायस्थ समुदायको राम्रो भोट छ। अजय आलोकजस्ता नेता पनि उम्मेदवारीको दौडमा थिए तर भाजपाले अचानक उम्मेदवार नै फेर्यो। यसैबिच एक भाजपा नेताले यस सिटबाट जोसुकैले जित्ने बयान दिए। यसले भाजपाका मतदातामा आफूहरूलाई ‘हल्कामा लिइएको’ भन्ने भावना पैदा गर्यो।’
लव कुमार मिश्रा भन्छन्, ‘एउटा आशंका यो पनि छ, नितिन नवीन राष्ट्रिय अध्यक्ष बनेपछि उनीसँगका नेताहरूले यस सिटमा जितका लागि मिहिनेत गरेनन्। यसलाई प्रशान्त किशोरले भाजपाको कमजोरीको पर्दाफास गरेको रूपमा भन्न सकिन्छ।’
४. जेडीयू र कम मतदान कति ठुलो तत्त्व ?
नितिश कुमार मुख्यमन्त्री पदबाट हटेपछि अहिले गठबन्धन सरकारमा जेडीयू ‘सानो भाइ’ को भूमिकामा आएको छ। लव कुमार मिश्राका अनुसार चुनाव प्रचारका क्रममा जेडीयूको उपस्थिति खासै देखिएन।
उनी भन्छन्, ‘बाँकीपुर उपचुनावका क्रममा जेडीयू मैदानमा नभएको र भाजपा एक्लै मैदानमा रहेको देखियो।’
सुरुर अहमदका अनुसार ३५ प्रतिशतभन्दा कम मतदान हुनु पनि भाजपाको विपक्षमा गयो। चुनाव प्रचारका क्रममा उम्मेदवार बदलिँदा त्यसले गलत सन्देश प्रवाह गर्यो।
प्रशान्त किशोर मैदानमा नभएको भए मतदान प्रतिशत २४ प्रतिशत मात्र पनि हुन सक्ने उनको दाबी छ।
५. सम्राट चौधरी रहे निसानामा
चुनाव प्रचारका क्रममा प्रशान्त किशोरले मुख्यमन्त्री सम्राट चौधरीलाई मात्र निसाना बनाइरहेको लगातार देखियो। सुरुर अहमदका अनुसार प्रशान्त किशोरका कानुनी मामिलालाई सम्राट चौधरीले मुद्दा बनाए। उता उनी सरकारको कामकारबाहीको कुरा गरिरहे, अर्कोतर्फ बाँकीपुरको सम्पूर्ण क्षेत्र निकै समृद्ध छ।
उनी भन्छन्, ‘बाँकीपुर सिटको क्षेत्रमा विधायक, सांसद, न्यायाधीश र वकिलहरूका घर छन्। एक किसिमले यो क्षेत्र निकै शिक्षित र समृद्ध छ। यस्तोमा प्रशान्त किशोरले सम्राट चौधरीलाई निसाना बनाउने रणनीतिले काम गर्यो।’
लव कुमार मिश्रा भन्छन्, ‘प्रशान्त किशोरले आफ्नो भाषणमा नितिन नवीन वा अन्य कुनै वरिष्ठ नेताको कहिल्यै उल्लेख गरेनन्। उनले जे जति प्रहार गरे, सम्राट चौधरीमाथि नै गरे। आफ्नो भाषणमा उनले सम्राट चौधरीलाई भ्रष्ट र अपराधी बताइरहे।’
उपचुनावमा प्रशान्त किशोरको जितलाई विश्लेषकहरूले सांकेतिक मानेका छन्।
लव कुमार मिश्राका अनुसार यो जित सांकेतिक हो। यसपछि प्रशान्त किशोरले सम्पूर्ण भारतस्तरमा आफ्नो छवि बनाउनेबारे सोच्नेछन्। विपक्षले चाहेमा उनलाई पञ्जाब र यूपी चुनावमा भाजपाविरोधी अनुहारका रूपमा चुनाव प्रचारमा लैजान सक्ने उनको भनाइ छ। लव कुमार मिश्रा भन्छन्, ‘मतदानअघि बिहार प्रहरीले राति दुई बजे ६४ जनालाई पक्राउ गरेको थियो। यसपछि प्रशान्त किशोरले वरिष्ठ एसपीविरुद्ध मुख्य निर्वाचन आयुक्तसमक्ष उजुरी गरे। त्यसैले प्रशान्त किशोरको यो जितको मिश्रित असर पर्नेछ।’
प्रशान्त किशोरको जितको प्रभाव आगामी दिनमा कस्तो हुनेछ भन्ने कुरा समयले नै बताउने भए पनि भाजपाका लागि भने यसलाई ठुलो झट्का मान्न सकिने सुरुर अहमद बताउँछन्।