भारतमा निर्वासनमा रहेकी शेख हसिनाको सम्बोधनबारे बंगलादेशले माग्यो भारतसँग स्पष्ट धारणा

आप्रवासन आप्रवासन

 

 बंगलादेश सरकारले भारतमा निर्वासनमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले नयाँ दिल्लीबाट गर्ने भनिएको भर्चुअल सम्बोधनबारे आफ्नो आधिकारिक धारणा स्पष्ट पार्न आग्रह गरेको छ । फरार अभियुक्तलाई भारतीय भूमिबाट राजनीतिक गतिविधि गर्न दिइए यसले दुई देशबीच सुधारोन्मुख सम्बन्धमा नकारात्मक असर पर्न सक्ने चेतावनी बंगलादेशले दिएको छ ।

विदेश मामिला राज्यमन्त्री शमा ओबैद इस्लामले सोमबार पत्रकारहरूसँग कुरा गर्दै बंगलादेश र भारतबीचको सम्बन्धलाई भविष्यतर्फ केन्द्रित गर्दै अघि बढाउन चाहेको बताइन् । उनले भारतले यस विषयमा आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिन् ।  

पूर्वप्रधानमन्त्री हसिनाले आगामी अगस्ट ५ मा नयाँ दिल्लीस्थित ‘फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसिया (एफसीसीएसए)ले आयोजना गर्ने कार्यक्रममा भिडियोमार्फत सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा उनका छोरा सजीब वाजेद जोयसहित अन्य वक्ताहरू पनि सहभागी हुने जनाइएको छ ।

बंगलादेश सरकारले हसिना तथा अवामी लिगका अन्य नेताहरूले भारतीय भूमिबाट राजनीतिक अभिव्यक्ति दिइरहेको विषयमा यसअघि पनि भारतसँग पटक–पटक चासो व्यक्त गरेको जनाएको छ । इस्लामले भारत सरकारले फरार व्यक्तिहरूलाई आफ्नो भूमिबाट राजनीतिक गतिविधि गर्न नदिने संकेत दिएको दाबी गर्दै, आवश्यक परे यो विषय कूटनीतिक माध्यमबाट पनि उठाइने बताइन् ।

उक्त कार्यक्रम भारत सरकारले नभई स्वतन्त्र संस्थाले आयोजना गरेको भन्दै बंगलादेशले यस विषयमा थप संवादको आवश्यकता औँल्याएको छ । घटनाबारे भारतीय विदेश मन्त्रालयले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । गत वर्ष सरकारी जागिरमा आरक्षणको विरोधमा भएको विद्यार्थी आन्दोलन अनियन्त्रित बनेपछि हसिना भागेर भारत आएकी थिइन् ।

बंगलादेशले उनको प्रत्यर्पणको माग गर्दै आएको छ । सन् २०२५ मा २०२४ को आन्दोलन दमनका क्रममा भएको मानवताविरुद्धको अपराध सम्बन्धी मुद्दामा उनलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । संयुक्त राष्ट्रसंघका अनुसार उक्त आन्दोलनका क्रममा करिब १ हजार ४०० जनाको ज्यान गएको अनुमान गरिएको छ । हसिनाले भने आफूविरुद्धको फैसला कानुनी रूपमा अमान्य रहेको दाबी गर्दै आएकी छन् ।