अमेरिकी सेयर बजार कीर्तिमानी स्तरनजिक उक्लिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच वार्ता भइरहेको दाबी गरेपछि लगानीकर्ता उत्साहित बनेसँगै बजार उकालो लागेको हो। उता, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि बढेको छ। इरानले अमेरिकासँग कुनै प्रत्यक्ष वार्ता नभएको बताइरहे पनि वार्ताको आशाले बजार सकारात्मक देखिएको हो।
अमेरिकाको प्रमुख एस एन्ड पी ५०० सूचकांक सोमबार १.५ प्रतिशतले बढेर जुन २ मा बनेको ऐतिहासिक उच्च अंकनजिक पुगेको छ। त्यस्तै, नास्डाक कम्पोजिट २.१ प्रतिशतले बढेर २७ हजार ९३.९० अंकमा पुगेको छ, जुन जुन २ मा छोएको कीर्तिमानी उच्च स्तरभन्दा ४.३ प्रतिशत मात्रै तल हो। सोमबार डाउ जोन्स औद्योगिक औसत पनि १.३ प्रतिशतले उकालो लाग्दै ५३ हजार १७८.४१ अंकको नयाँ कीर्तिमानी स्तरमा पुगेको छ।
प्रविधि क्षेत्रका ठूला कम्पनीहरूको सेयरमा उल्लेखनीय वृद्धि भएको छ। मेटा प्लेटफर्म्सको सेयर ६ प्रतिशतले बढेको छ भने माइक्रोसफ्ट, अमेजन र अल्फाबेटको सेयर ४.४ देखि ४.९ प्रतिशतसम्म बढेको छ। चिप निर्माता कम्पनी एनभिडियाको सेयर मूल्य २.९ प्रतिशतले बढ्दा विद्युतीय सवारीसाधन निर्माता कम्पनी टेस्लाको सेयर ३.५ प्रतिशतले बढेको छ। आइफोन निर्माता एप्पलको सेयरमा भने उल्लेखनीय वृद्धि देखिएन।
“म वृद्धिको परिमाण देखेर अत्यन्तै छक्क परेको छु,” सिमकर्पकी लगानी निर्णय अनुसन्धान प्रबन्ध निर्देशक मेलिसा ब्राउनले अल जजिरालाई भनिन्। अपेक्षाकृत नकारात्मक बजार मनोविज्ञान र बजारलाई समर्थन गर्ने पर्याप्त आधारभूत कारणबिनै सेयर बजार बढेको उनले बताइन्।
अन्तर्राष्ट्रिय बजारमा सोमबार ५ प्रतिशतले घटेको अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य मंगलबार भने बढेको छ। बिहान ४:०० जीएमटीसम्म ब्रेन्ट क्रुड फ्युचर्सको मूल्य १.३ प्रतिशतले बढेर प्रतिब्यारेल झन्डै ८५ अमेरिकी डलर पुगेको छ।
बिहानी कारोबारमा उकालो लागेको एसियाली सेयर बजारमा भने पछि केही गिरावट आएको छ। यो समाचार तयार पार्दासम्म नेपाली समयअनुसार बिहान ११:२२ बजे दक्षिण कोरियाको कोस्पी परिसूचक ०.३० प्रतिशतले घटेर ६ हजार २३८.९० अंकमा झरेको छ। जापानको निक्केई २२५ पनि ०.१९ प्रतिशतले घटेर ६३ हजार ६३५ अंकमा पुगेको छ भने हङकङको ह्याङ सेङ ०.७१ प्रतिशतले घटेर २५ हजार ८२१ अंकमा आएको छ। भारतको बेन्चमार्क निफ्टी ०.०९ प्रतिशतले घटेर २४ हजार ६४५ अंकमा झरेको छ।
मंगलबार इन्डोनेसिया, सिंगापुर र चीनका सेयर बजार भने हरियो संकेतमा कारोबार गरिरहेका छन्। साङ्घाई कम्पोजिट ०.३६ प्रतिशतले बढेर ३ हजार ८२३.३३ अंकमा पुगेको छ भने जकार्ता कम्पोजिट ०.५७ प्रतिशतले बढेर ६ हजार २७०.१६ अंकमा उक्लिएको छ। सिंगापुरको स्ट्रेट्स टाइम्स पनि ०.२९ प्रतिशतले बढेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको र नयाँ सैन्य आक्रमणअघि सम्झौताको अन्तिम अवसर दिन चाहेको बताएका छन्। उनले यसअघि दोस्रो विश्वयुद्धपछि हुने सबैभन्दा ठूलो आक्रमणको योजना स्थगित गरेको दाबी पनि गरेका थिए। तर इरानले भने अमेरिकासँग कुनै प्रत्यक्ष वार्ता नभएको बताउँदै आएको छ।