हमास पूर्ण निःशस्त्रीकरण नभइ गाजाबाट इजरायली सेना फिर्ता नहुने

आप्रवासन आप्रवासन

 

 हमासको पूर्ण निःशस्त्रीकरण सम्पन्न भएपछि मात्रै गाजाबाट इजरायली सेना फिर्ता हुने अमेरिकाको नेतृत्वमा गठन गरिएको बोर्ड अफ पिसले बताएको छ । बोर्डका महानिर्देशक निकोलाय म्लादेनोभ र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबिच सोमबार पश्चिम जेरुसेलममा भएको भेटपछि बोर्डले यो धारणा सार्वजनिक गरेको हो ।

हमासले हल्का हतियार, भारी हतियार र सुरुङसहित सबै सैन्य संरचना पूर्ण रूपमा निष्क्रिय बनाउने आफ्नो प्रतिबद्धता पूरा गरेपछि मात्रै इजरायली सेना येलो लाइन पछाडि जाने बोर्ड अफ पिसको भनाइ छ । बोर्डले गाजामा हतियारको शासन अन्त्य गरी नागरिक प्रशासन स्थापना गर्नु नै मुख्य उद्देश्य भएको जनाएको छ ।

यता हमासले भने इजरायलले पनि सम्झौताअनुसार आफ्नो दायित्व पूरा नगरेसम्म सम्झौता कार्यान्वयन नहुने अडान राखेको छ । भेटका क्रममा निकोलाय म्लादेनोभले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई गाजामाथिका आक्रमण रोक्न आग्रह गरेका थिए । तर इजरायलले आक्रमण जारी राखेको बताइएको छ । सन् २०२५ को अक्टोबरमा युद्धविराम घोषणा भएयता इजरायली आक्रमणमा १ हजार २ सयभन्दा बढी प्यालेस्टिनी मारिएका छन् । हमासको निःशस्त्रीकरणसम्बन्धी सम्झौता सार्वजनिक भएपछि मात्रै पनि ३६ भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

सन् २०२३ को अक्टोबर देखि सुरु भएको युद्धपछि गाजामा ७३ हजारभन्दा बढी प्यालेस्टिनी मारिएको उल्लेख गरिएको छ । यसअघि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले सार्वजनिक गरिएको सम्झौताले इजरायलको आधिकारिक धारणा नसमेटेको जनाएको थियो । इजरायलका अर्थमन्त्री बेजालेल स्मोट्रिचले पनि सम्झौताको विरोध गर्दै यस विषयमा तुरुन्तै नयाँ मतदान गर्नुपर्ने माग गरेका छन् ।

यसैबिच निःशस्त्रीकरण सम्झौतामा मध्यस्थता गरेका इजिप्ट, कतार र टर्कीलेले संयुक्त विज्ञप्ति जारी गर्दै इजरायलले सर्वसाधारण र स्वास्थ्य संस्थामाथि गरेको आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको बताएका छन् । हमासले भने युद्धविरामको दोस्रो चरण पूरा गर्न आफू प्रतिबद्ध रहेको र निकोलाय म्लादेनोभ तथा मध्यस्थकर्ताहरूबाट स्पष्ट आधिकारिक जवाफको प्रतीक्षा गरिरहेको जनाएको छ ।