अमेरिकाको न्यू जर्सीस्थित आईसीईको हिरासत केन्द्रमा आप्रवासीको मृत्यु

आप्रवासन आप्रवासन

 

अमेरिकाको न्यू जर्सी राज्यस्थित विवादास्पद आप्रवासन हिरासत केन्द्रमा राखिएका एक एल साल्भाडोरका नागरिकको मृत्यु भएको छ ।

संघीय अधिकारीहरूले सोमबार घटनाको पुष्टि गर्दै मृतक ४१ वर्षीय एडविन लोपेज–कोर्नेजो रहेको बताएका छन् । यो घटना अमेरिकाको आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आईसीई)को हिरासतमा भएको पछिल्लो मृत्यु हो, जसले हिरासत केन्द्रहरूको अवस्था र बन्दीहरूको सुरक्षाबारे पुनः गम्भीर प्रश्न उठाएको छ ।

आईसीईका अनुसार लोपेज–कोर्नेजो नेवार्कस्थित निजी कम्पनीद्वारा सञ्चालित डिलेनी हल आप्रवासन हिरासत केन्द्रमा राखिएका थिए । शनिबार हिरासतमा रहँदा उनलाई अचानक स्वास्थ्यसम्बन्धी आपत्कालीन समस्या देखिएपछि केन्द्रका कर्मचारी र स्वास्थ्यकर्मीले तत्काल उपचार सुरु गरेका थिए। त्यसपछि आपत्कालीन सेवा ९११ मार्फत एम्बुलेन्स बोलाएर उनलाई नेवार्कको युनिभर्सिटी अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा चिकित्सकहरूले उनलाई मृत घोषणा गरे ।

आईसीईले जारी गरेको विज्ञप्तिमा लोपेज–कोर्नेजोले हिरासतमा रहँदा आवश्यक स्वास्थ्य सेवा पाएको र स्वास्थ्य समस्या देखिएलगत्तै तुरुन्तै उपचारको व्यवस्था गरिएको दाबी गरेको छ । साथै, उनको मृत्युबारे परिवार तथा न्यू जर्सीको एलिजाबेथस्थित एल साल्भाडोरको वाणिज्य दूतावासलाई जानकारी गराइसकिएको पनि जनाएको छ ।

अधिकारीहरूका अनुसार लोपेज–कोर्नेजोको मृत्युको आधिकारिक कारण अझै सार्वजनिक गरिएको छैन । पोस्टमार्टम तथा थप चिकित्सकीय परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने अपेक्षा गरिएको छ । डिलेनी हल हिरासत केन्द्र यसअघि पनि विवादमा परेको थियो । यस वर्षको सुरुआतमा हिरासत केन्द्रभित्र आप्रवासीहरूलाई अमानवीय व्यवहार गरिएको, पर्याप्त स्वास्थ्य सेवा नदिइएको र आधारभूत सुविधा कमजोर रहेको आरोप लगाउँदै मानवअधिकारकर्मी, स्थानीय बासिन्दा तथा आप्रवासी अधिकार समूहहरूले लगातार प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो । अवस्था नियन्त्रणबाहिर जान थालेपछि नेवार्कका मेयरले केही समयका लागि अस्थायी कफ्र्यु लागू गरेका थिए । मानवअधिकार संगठनहरूले निजी कम्पनीद्वारा सञ्चालित हिरासत केन्द्रहरूमा पर्याप्त सरकारी निगरानी, पारदर्शिता र जवाफदेहिताको अभाव रहेको आरोप लगाउँदै आएका छन् । गत वर्ष मे महिनामा सञ्चालनमा आएको डिलेनी हल हिरासत केन्द्रमा भएको यो दोस्रो मृत्यु हो ।

यसअघि गत डिसेम्बरमा ४१ वर्षीय जीन विल्सन ब्रुटस नामका अर्का आप्रवासी हिरासतमा प्रवेश गरेको एक दिनमै मृत्यु भएको थियो । त्यतिबेला पनि उनलाई आकस्मिक स्वास्थ्य समस्या देखिएको र प्राकृतिक कारणले मृत्यु भएको आईसीईले जनाएको थियो । लगातार दुई जनाको मृत्यु भएपछि हिरासत केन्द्रभित्र उपलब्ध स्वास्थ्य सेवा, आपत्कालीन उपचार प्रणाली तथा बन्दीहरूको समग्र अवस्थाबारे पुनः प्रश्न उठ्न थालेको छ ।

अमेरिकी सञ्चारमाध्यमहरूको तथ्यांकअनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः सत्तामा फर्किएपछि लागू गरिएको कडा आप्रवासन नीतिका क्रममा हिरासतमा मृत्यु हुने आप्रवासीको संख्या उल्लेखनीय रूपमा बढेको छ । लोपेज–कोर्नेजो र ब्रुटससहित ट्रम्प प्रशासनको दोस्रो कार्यकाल सुरु भएयता ५० भन्दा बढी आप्रवासीको हिरासतमा मृत्यु भइसकेको जनाइएको छ । सन् २०२५ मा आईसीई हिरासतमा भएको मृत्यु पछिल्ला कम्तीमा दुई दशककै सबैभन्दा धेरै रहेको बताइएको छ भने सन् २०२६ मा यो संख्या अझै बढ्ने संकेत देखिएको छ ।

न्यू जर्सीकी गभर्नर मिकी शेरेलले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारले घटनाबारे स्पष्ट जवाफ पाउनुपर्ने बताएकी छन् । उनले विज्ञप्तिमार्फत आफ्नो प्रशासनले संघीय सांसदहरूसँग मिलेर घटनाको सम्पूर्ण तथ्य संकलन गरिरहेको जानकारी दिइन् । त्यस्तै, नेवार्कका मेयर रास बाराकाले पनि घटनालाई अत्यन्त दुःखद भन्दै डिलेनी हलमा पर्याप्त निगरानी, जवाफदेहिता र पारदर्शिताको अभावका कारण यस्ता घटना दोहोरिइरहेको आरोप लगाए ।

उनले यसअघि पनि उक्त हिरासत केन्द्रबारे स्वतन्त्र अनुसन्धानको माग गरेका थिए । आईसीईका अनुसार लोपेज–कोर्नेजो पहिलोपटक सन् २००६ मा अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए । त्यसपछि अमेरिकी सीमा सुरक्षा निकायले उनलाई पक्राउ गरी सोही वर्ष एल साल्भाडोर फर्काएको थियो । पछि उनी फेरि कुनै अज्ञात समयमा अवैध रूपमा अमेरिका प्रवेश गरेको आईसीईले जनाएको छ । गत जुन १८ मा न्यू जर्सीको प्लेनफिल्डबाट पक्राउ परेका उनलाई देश निकाला प्रक्रिया पूरा नहुँदासम्म डिलेनी हल हिरासत केन्द्रमा राखिएको थियो ।