युक्रेनले रुसको मस्को नजिकै रहेको एउटा गोदाममा गरेको ड्रोन आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
मस्को क्षेत्रका गभर्नर आन्द्रे भोरोब्योभका अनुसार सोमबार राति राजधानी मस्कोबाट करिब ६९ किलोमिटर दक्षिणमा रहेको चेखोभको नोभोसेल्कीस्थित औद्योगिक क्षेत्रमा आक्रमण भएको हो। आक्रमणबाट एउटा गोदाममा आगलागी भएको तथा विद्युत् सबस्टेसन र प्रशासनिक भवनमा पनि क्षति पुगेको उनले बताएका छन्। घाइतेमध्ये सात जनाको अवस्था मध्यम र एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
युक्रेनी सञ्चारमाध्यमका अनुसार आक्रमण भएको गोदाम रुसी अनलाइन खुद्रा कम्पनी वाइल्डबेरीजसँग सम्बन्धित थियो। पछिल्ला केही सातादेखि युक्रेनले वाइल्डबेरीजका विभिन्न भण्डारण केन्द्रलाई निशाना बनाउँदै आएको छ। किभले ती केन्द्रबाट रुसी सेनालाई सामग्री आपूर्ति हुने आरोप लगाउँदै आएको छ भने मस्कोले त्यसलाई अस्वीकार गर्दै आएको छ।
रुसी अधिकारीहरूले सेन्ट पिटर्सबर्ग र तेभर क्षेत्रमा पनि वाइल्डबेरीजका गोदाममा आक्रमण भएको बताएका छन्। रुसी रक्षा मन्त्रालयका अनुसार रातभरमा ३२० वटा युक्रेनी ड्रोन नष्ट वा अवरोध गरिएको थियो।
यसैबीच, रुसी आक्रमणमा युक्रेनमा पनि कम्तीमा चार जनाको मृत्यु भएको छ। माइकोलाइभमा ८९ वर्षीया महिलाको मृत्यु भएको र सात जना घाइते भएका छन्। सुमीमा आवासीय क्षेत्रमा भएको आक्रमणमा एक महिला र पाँच तथा १० वर्षीया दुई बालिकाको मृत्यु भएको जनाइएको छ।
यो घटना दक्षिणी रुसको क्रास्नोडार क्षेत्रमा व्यस्त समुद्री तटमा ड्रोन खस्दा सात जनाको मृत्यु र ५८ जना घाइते भएको घटनाको एक दिनपछि भएको हो। दुवै पक्षले सर्वसाधारणलाई जानाजानी निशाना बनाएको आरोप अस्वीकार गर्दै आएका छन्।