नाकाबन्दी जारी रहे अमेरिकी नौसेनामाथि आक्रमण गर्ने इरानको धम्की

आप्रवासन आप्रवासन

 

 अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी जारी राखे अमेरिकी युद्धपोतहरूलाई निशाना बनाउने चेतावनी इरानले दिएको छ ।

इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईका सैन्य सल्लाहकार मोहसेन रेजाइले इरानी सेनाले देशमाथिको दबाब र जलमार्ग अवरोधलाई चुपचाप स्वीकार नगर्ने बताएका छन् । इरानी सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा रेजाइले अमेरिकाले स्ट्रेट अफ होर्मुजमा गैरकानुनी रूपमा सैन्य गतिविधि बढाए त्यसको जवाफ दिने चेतावनी दिएका हुन् ।

‘यदि अमेरिकाले होर्मुजको अवैध मार्गमा युद्धपोतहरू ल्याउँछ भने हामी तिनलाई निशाना बनाउनेछौं,’ उनले भने ।

अमेरिका र इरानबिच भएको युद्धविराम सम्झौता असफल भएपछि गत महिना अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी पुनः लागु गरेको थियो । अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार नाकाबन्दी लागू भएपछि अमेरिकी नौसेनाले ४४ वटा व्यापारिक जहाजको मार्ग परिवर्तन गराएको छ भने दुई वटा जहाजलाई निष्क्रिय बनाएको अनि दुई वटा जहाजभित्र चढेर निरीक्षण गरेको बताइएको छ ।

इरानले होर्मुज भएर हुने व्यापारिक गतिविधिमा आफ्नो नियन्त्रण र सुरक्षा अधिकार कायम राख्ने रेजाइले बताएका छन् । आफ्नो स्वीकृति नभएको कुनै पनि मार्ग भएर जहाजलाई आवत जावत गर्न इरानले नदिनेमा पनि उनले जोड दिए । अमेरिकामाथि दुई देशबीच भएको समझदारी उल्लंघन गरेको आरोप पनि रेजाइले लगाए । उनका अनुसार अमेरिकाले विवाद समाधान समितिमा विषय नपुर्‍याई सैन्य कारबाही पुनः सुरु गरेको हो ।