नेपालले विरोध जनाउँदा जनाउँदै लिपुलेक हुँदै भारत र चीनले सुरु गरे व्यापार

आप्रवासन आप्रवासन

 

नेपाललाई बेवास्ता गर्दै भारत र चीनले लिपुलेक हुँदै व्यापार सुरु गरेका छन् । भारतबाट १६ जना व्यापारी र चार जना सहयोगीसहित २० जना व्यापारका लागि लिपुलेक हुँदै तिब्बतको तकलाकोट गएका छन् ।

लिपुलेक हुँदै २० जना भारतीय व्यापारी तिब्बत गएको जानकारी पाएको र त्यसबारे गृह मन्त्रालयलाई जानकारी गराइसकेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले बताए ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जिल्लाबाट आएका कुरा र सञ्चारमाध्यममा आएका विषय परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको प्रस्ट पारे । उनले भने, ‘यसको विषयमा परराष्ट्र मन्त्रालयले केही गर्दै होला ।’

यता परराष्ट्र मन्त्रालयले घटनाक्रमको बारेमा अध्ययन भइरहेको जनाएको छ । यसबारे चाँडै औपचारिक जानकारी गराउने मन्त्रालयको भनाइ छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार चीनले हाल २० जना भारतीय व्यापारीलाई तिब्बत जान अनुमति दिएको छ । भारतले १५५ वटा वस्तु आयात गर्ने र त्यसका लागि ६२ व्यापारी र ९३ जना सहयोगी तिब्बत जाने गरी निर्णय गरिसकेको छ । सोही अनुसार पहिलो चरणमा २० जना भारतीय तिब्बत पुगेका छन् ।

एएनआईसँग कुरा गर्दै भारतका सीमा व्यापार संगठनका अध्यक्ष जीवन सिंह रोन्कालीले नाका खुल्ने भएपछि सन् २०१९ देखि तिब्बतको तकलाकोटस्थित गोदाममा थन्किएका सामान ल्याउन सहज हुने बताए । ७ वर्षपछि यो मार्ग पुनः सुरु हुन लागेकामा व्यापारी तथा स्थानीय उत्साहित रहेको उनको भनाइ छ ।

लिपुलेकको कुरा उठ्ला लखनउ बैठकमा ?

एएनआईसँग कुरा गर्दै भारतका सीमा व्यापार संगठनका अध्यक्ष जीवन सिंहले सन् २०१९ को तथ्याङ्क अनुसार करिब १.९ करोड भारु बराबरको आयात र करिब १.३ करोड भारु बराबरको निर्यात भएको जनाए । अब व्यापार अझै बढ्ने उनले विश्वास व्यक्त गरे । चाडपर्वलाई लक्षित गरेर सामान ल्याउन लागिएको उनले बताए ।

भारत–चीनबिच सम्झौता

चीनका विदेश मन्त्री वाङ यी एक वर्षअघि भारत भ्रमणमा गएको बेला भारत र चीनबिच लिपुलेकको बाटो हुँदै व्यापार गर्ने सहमति भएको थियो । भारतका विदेश मन्त्री एस जयशंकर र चीनका विदेश मन्त्री वाङ यीबिच छलफल हुँदा सीमा व्यापारको विषयमा सहमति भएको थियो । लिपुलेकसँगै सिप्क ला र नाथु ला सीमा व्यापार खुला गरिने सहमति भएको भारतीय विदेश मन्त्रालयलद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । 

त्यसअघि २०८१ पुसमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल चीन भ्रमणमा गएको बेला कैलाश मनोसरोवार यात्रा पुनः सुरुवात गर्ने सहमति भएको थियो । अजित डोभाल र चिनियाँ विदेश मन्त्री वाङ यीबिच २०२४ डिसेम्बर १८ मा चीनको बेइजिङमा छलफल भएको थियो । कोभिडदेखि सो क्षेत्र हुँदै व्यापार तथा कैलाश मानसरोवर यात्रा स्थगित थियो । दुवै देशले त्यतिबेला यात्रा र व्यापार दुवै पुनः सञ्चालन गर्ने सहमति गरेका थिए ।

२०७२ जेठमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा गएको गएको बेला चीनसँग लिपुलेकलाई व्यापारिक तथा दुई देशको तीर्थयात्री आवतजावत गर्ने केन्द्र बनाउने सहमति भएको थियो ।

नेपालको असहमति

लिपुलेकको विषयलाई लिएर भारत र चीनबिच सहमति भएपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले परराष्ट्र मन्त्रालयलाई भनेर तत्कालै नेपालस्थित भारत र चीनका राजदूतलाई ‘प्रोटेस्ट नोट’ पठाएर सो सहमतिप्रति आपत्ति जनाएका थिए ।

त्यतिबेला पनि नेपाल र भारतबिच असहज परिस्थिति उत्पन्न भएको थियो । त्यही विषयलाई लिएर तत्कालीन प्रधानमन्त्री कोइराला र भारतका प्रधानमन्त्री मोदीबिच फोनवार्ता भएको थियो । त्यसपछि सुशील कोइरालाको निर्धारित भारत भ्रमण एकाएक स्थगित भएको थियो ।

त्यतिबेला नेपालले असहमति जनाउँदा जनाउँदै भारतले २०७६ कात्तिकमा जारी गरेको आफ्नो नयाँ नक्सामा लिपुलेक र कालापानीलाई समावेश गरेको थियो । त्यति बेलामा पनि भारतको खुब विरोध भएको थियो ।

भारतले आफ्नो नक्सा सच्याउनुको सट्टा २०७७ वैशाखमा दार्चुलाको व्यास गाउँपालिका–१ को गुन्जीदेखि लिपुलेकसम्म सडक बनाएर त्यसको उद्घाटन गरेको थियो । नेपालले त्यसको पनि विरोध गरेको थियो ।

त्यसपछि नेपालले पनि आफ्नो नक्सा संशोधन गरी लिपुलेक, कालापानी र लिम्पियधुरालाई समावेश गरेको थियो र संसदबाट त्यसलाई पास पनि गरेको थियो । २०७७ जेठमा नेपाल सरकारले त्यो नक्सा जारी गरेको थियो ।

चीनको जबफ

२०८२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएको बेला लिपुलेकलाई लिएर भारत र चीनबिच भएको सम्झौताको विषयमा चिनियाँ राष्ट्रपति सी जिनपिङसमक्ष कुरा राखेका थिए । त्यसको जबाफमा चीनले लिपुलेकको विषय नेपाल–भारतको समस्या हो भन्दै दुवै देश मिलेर समाधान गर्न भनेको थियो ।

पछिल्ला समय असारमा परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा गएको बेला त्यहाँका विदेशमन्त्री वाङ यी समक्ष लिपुलेकको कुरा राखेका थिए । वाङ यीले पनि नेपाल र भारतबिच छलफल गरी विवाद सुल्झाउन सुझाव दिएका थिए ।

यसरी भारत र चीनले गरेको सहमतिलाई नेपालले विरोध गर्दागर्दै दुवै देशले सहमति अनुसार व्यापार नै सुरु गरेका छन् । भारत र चीनले गरेको सहमतिमा आपत्ति जनाउँदै नेपालले दुवै देशलाई कूटनीतिक नोट पठाएको थियो । भारतले लिपुलेक, कालापानी, लिम्पियाधुरा वर्षौंदेखि प्रयोगमा आएको आफ्नो भूभाग रहेको दाबी गर्दै त्यसमा केही कुरामा चित्त बुझेको छैन भने कूटनीतिमार्फत समाधान गर्न सकिन्छ भनेको थियो ।

चीनले लिपुलेकको विवाद भारत र नेपालबिचको समस्या रहेको भन्दै त्यसलाई दुवै देश मिलेर समाधान गरोस् भन्ने जबाफ नेपाललाई पठाएको थियो । तर नेपाल र भारतबिच यस विषयमा कुनै छलफल वा वार्ता नै नभई चीन र भारतले एकतर्फी रूपमा व्यापार सुरु गरेका छन् ।