ट्रम्पको गल्फ कोर्स नजिक हतियारसहित एक व्यक्ति पक्राउ

आप्रवासन आप्रवासन

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यालिफोर्नियास्थित ट्रम्प नेशनल गल्फ कोर्समा हुने रिपब्लिकन पार्टीको कोष सङ्कलन कार्यक्रममा सहभागी हुनुअघि गल्फ कोर्स नजिक एक व्यक्ति हतियारसहित पक्राउ परेका छन् ।

३८ वर्षीय जेनिन जोन टाएले गल्फ कोर्स परिसरमा हिँड्दै तस्बिर र भिडियो खिचिरहेको तथा सुरक्षा व्यवस्थाको निगरानी गरिरहेको जस्तो देखिएपछि सादा पोसाकका सङ्घीय सुरक्षा अधिकारीहरूले स्थानीय प्रहरीलाई जानकारी दिएका थिए ।

संदिग्धलाई नियन्त्रणमा लिएर जाँच गर्दा उनी एल सेगुन्डो प्रहरीको एउटा डकैतीसम्बन्धी अनुसन्धानमा पनि खोजी सूचीमा रहेको खुलेको थियो । उनको साथबाट १६ राउन्ड होलो–पोइन्ट गोली भएको म्यागजिन फेला परेको थियो भने पार्किङमा राखिएको गाडीबाट लोड गरिएको पेस्तोल र अर्को लोड गरिएको म्यागजिन बरामद गरिएको थियो । होलो–पोइन्ट गोली लक्ष्यमा ठोक्किएपछि फैलिने भएकाले यसले बढी क्षति पुर्‍याउन सक्छ । क्यालिफोर्नियाको कानुनअनुसार १० राउन्डभन्दा बढी अट्ने म्यागजिन प्रयोग गर्न निषेध गरिएको छ ।

पक्राउपछि एफबीआईको संयुक्त आतंकवाद अनुसन्धान टोली र लस एन्जलस काउन्टी शेरिफ विभागले डाउनीस्थित उनको घरमा खानतलासी गरेका थिए । त्यहाँबाट अवैध रूपमा परिमार्जन गरिएको एआर शैलीको राइफल, .४५ क्यालिबरको पेस्तोल, बुलेटप्रुफ ज्याकेट, उच्च क्षमताका म्यागजिन, ठुलो मात्रामा गोली तथा चिन्ताजनक सामग्री लेखिएका केही नोटबुक बरामद भएको प्रहरीले जनाएको छ ।

हाल टाएलेविरुद्ध लुकाएर हतियार बोकेको र प्रतिबन्धित गोलाबारुद राखेको आरोपमा मुद्दा दर्ता गरिएको छ । अनुसन्धान जारी रहेकाले थप आरोप पनि लगाइन सक्ने अधिकारीहरूले बताएका छन् । यस घटनाको अनुसन्धान अमेरिकी सिक्रेट सर्भिसको सहयोगमा भइरहेको छ । अधिकारीहरूका अनुसार हालसम्म समुदाय वा राष्ट्रपतिमाथि कुनै विश्वसनीय सुरक्षा खतरा भेटिएको छैन । तर, यस्तो घटनाले शंकास्पद गतिविधिलाई समयमै पहिचान गरी अनुसन्धान गर्नु सुरक्षा निकायका लागि कति महत्त्वपूर्ण हुन्छ भन्ने देखाएको छ ।