जापानले अमेरिकामा बनेको टमाहक क्रुज क्षेप्यास्त्र परीक्षण गरेपछि उत्तर कोरियाले चेतावनी दिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले उक्त परीक्षणको विरोधमा थप सैन्य कदम चाल्न सक्ने चेतावनी दिएकी हुन् । बुधबार सरकारी समाचार संस्था केसीएनएमार्फत जारी गरिएको वक्तव्यमा किम यो जोङले जापान आफ्नो परम्परागत रक्षात्मक सैन्य नीतिबाट हटेर अग्रिम आक्रमण गर्न सक्ने सैन्य शक्ति बन्ने दिशामा अघि बढिरहेको आरोप लगाएकी छन् ।
हालै प्रशान्त महासागरमा जापानको एजिस विनाशक युद्धपोत चोकाइबाट गरिएको टमाहक क्षेप्यास्त्र परीक्षण, अन्य क्षेप्यास्त्र परीक्षण तथा मे महिनामा फिलिपिन्समा अमेरिका नेतृत्वको संयुक्त सैन्य अभ्यासमा जापानको सहभागितालाई उत्तर कोरियाको सुरक्षाका लागि गम्भीर चुनौती भएको उनले बताएकी छिन् । किमले जापानलाई उसको सुरक्षा अझ बढी जोखिममा परेको महसुस गराउने गरी प्रतिक्रिया दिने बताइन् ।
‘जापानको यस्तो खतरनाक सैन्य चालको पछाडि अमेरिकाको हात छ,’ उनले थपिन् । उत्तर कोरियाले पछिल्ला महिनाहरूमा अमेरिका, दक्षिण कोरिया र जापानबिच बढ्दो सुरक्षा सहकार्यको लगातार आलोचना गर्दै आएको छ । जुलाई यता केसीएनएले संयुक्त सैन्य अभ्यास र सुरक्षा सहयोगको विरोधमा कम्तिमा ६ वटा टिप्पणी र सम्पादकीय प्रकाशित गरेको छ । अमेरिकाले टमाहक क्षेप्यास्त्र उपलब्ध गराएको र ती सञ्चालन गर्न युद्धपोतहरू परिमार्जन गरेको तथा परीक्षणमा सहयोग गरेको भन्दै किमले यसले क्षेत्रीय तनाव बढाउने बताएकी छन् ।