अमेरिका–इरान युद्ध अन्त्य गर्ने प्रयास जारी रहे पनि शान्ति वार्ताको भविष्य अझै स्पष्ट हुन सकेको छैन । यस्तो अवस्थामा मध्यपूर्वका विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्टेट अफ होर्मुज र बाब एल–मन्देब स्ट्रेटमा जहाज आवतजावत मंगलबार अघिल्लो दिनको तुलनामा लगभग स्थिर रहेको तथ्यांक सार्वजनिक भएको छ ।
जहाज निगरानी गर्ने संस्था क्लेप्लरका अनुसार मंगलबार स्ट्रेट अफ होर्मुजबाट जम्मा आठ वटा जहाज आवतजावत गरेका छन् । तीमध्ये पाँच वटा तेल बोक्ने ट्याङ्कर र तीन वटा सुख्खा मालवाहक जहाज रहेका छन् । यो संख्या सोमबारको तुलनामा कुनै परिवर्तन नभएको हो । आठमध्ये छ वटा जहाज जलडमरूमध्यभित्र प्रवेश गरेका थिए भने एउटा तरलीकृत प्राकृतिक ग्यास बोक्ने जहाज र एउटा तेल ट्याङ्कर बाहिरिएका थिए ।
युद्ध सुरु हुनुअघि भने स्टेट अफ होर्मुज विश्वकै व्यस्त समुद्री मार्गमध्ये एक थियो । दैनिक औसत १३० देखि १४० वटा जहाज यही मार्ग हुँदै आवतजावत गर्ने गर्थे । तर फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त रूपमा इरानविरुद्ध सैन्य अभियान सुरु गरेपछि इरानले स्टेट बन्द गर्ने घोषणा गरेको थियो । त्यसयता जहाजको संख्या अत्यधिक घटेको छ र विश्व ऊर्जा आपूर्तिमा समेत यसको प्रभाव परेको छ ।
स्ट्रेट अफ होर्मुज विश्वभर खपत हुने करीब २० प्रतिशत कच्चा तेल र ठूलो परिमाणमा तरलीकृत प्राकृतिक ग्यास ढुवानी हुने मुख्य समुद्री मार्ग भएकाले यहाँको सुरक्षा अवस्था विश्व ऊर्जा बजारका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ । यही कारण यस क्षेत्रमा हुने हरेक गतिविधिलाई अन्तर्राष्ट्रिय बजारले नजिकबाट निगरानी गरिरहेको छ ।
यसैबीच, संयुक्त अरब इमिरेट्सको अबुधाबी राष्ट्रिय तेल कम्पनीद्वारा सञ्चालित मुबाराज नामक तरलीकृत प्राकृतिक ग्यास बोक्ने जहाज पुनः स्टेट अफ होर्मुज पार गरेर भारततर्फ पुगेको छ । लन्डन स्टक एक्सचेन्ज ग्रुप र क्लेप्लरको तथ्यांकअनुसार उक्त जहाजले संयुक्त अरब इमिरेट्सको दास टापुबाट जुलाई १४ मा ग्यास लोड गरेको थियो । जहाजलाई जुलाई १६ मा अन्तिम पटक स्टेट अफ होर्मुजभित्र देखिएको थियो । हाल मुबाराज जहाज भारतको पश्चिमी समुद्री तट नजिक पुगेको छ । उपलब्ध तथ्यांकअनुसार जहाज अगस्ट ५ मा भारतको गुजरातस्थित दहेज बन्दरगाहमा पुग्ने अपेक्षा गरिएको छ । युद्ध सुरु भएयता दास टापुबाट ग्यास बोकेर स्टेट अफ होर्मुज पार गर्ने यो मुबाराजको तेस्रो यात्रा हो ।
यसअघि यसले चीन र भारतमा दुईवटा ग्यास ढुवानी सफलतापूर्वक सम्पन्न गरिसकेको थियो । अबुधाबी राष्ट्रिय तेल कम्पनीले भने आफ्नो नीतिअनुसार कम्पनीका जहाजको स्थान, आवतजावत वा मार्गबारे सार्वजनिक रूपमा कुनै टिप्पणी नगर्ने जनाएको छ । यता, अर्को महत्त्वपूर्ण समुद्री मार्ग बाब एल–मन्देब जलडमरूमध्यमा पनि मंगलबार जहाज आवतजावत स्थिर देखिएको छ। क्लेप्लरका अनुसार उक्त जलमार्ग भएर २० वटा जहाज आवतजावत गरेका छन् । तीमध्ये १० वटा जहाज जलडमरूमध्यभित्र प्रवेश गरेका थिए भने १० वटा बाहिरिएका थिए। यो संख्या पनि अघिल्लो दिनकै बराबर हो । बाब एल–मन्देब हुँदै प्रवेश गर्ने जहाजमध्ये छ वटा तेल ट्याङ्कर, तीन वटा सुख्खा मालवाहक जहाज र एउटा ग्यास बोक्ने जहाज रहेका थिए । त्यस्तै बाहिरिने जहाजमध्ये सात वटा तेल ट्याङ्कर र तीन वटा सुख्खा मालवाहक जहाज थिए ।
विश्लेषकहरूका अनुसार वास्तविक जहाज संख्या तथ्यांकमा देखिएभन्दा केही बढी हुन सक्छ । केही जहाजले सुरक्षा कारण देखाउँदै आफ्नो ट्रान्सपोन्डर बन्द गरेर यात्रा गर्ने भएकाले त्यस्ता जहाज आधिकारिक गणनामा समावेश नहुने बताइएको छ । यसैबिच, कतारले अमेरिका–इरान युद्ध अन्त्य गर्न भइरहेको मध्यस्थतामा सकारात्मक प्रगति भएको जनाएको छ । कतारी अधिकारीहरूका अनुसार वार्तालाई अगाडि बढाउने प्रयास जारी रहेको र केही महत्त्वपूर्ण विषयमा सहमति नजिक पुगिएको संकेत देखिएको छ । यही आशाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि घटेको छ ।
तर इरानले भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति वार्ता सुरु भइसकेको दाबी गरेको अस्वीकार गरेको छ । तेहरानले औपचारिक वार्ता सुरु नभएको र कुनै अन्तिम सहमति नभएको स्पष्ट पारेको छ । यसले शान्ति प्रक्रियाबारे अझै अन्योल कायम रहेको देखाएको छ । होर्मुज र बाब एल–मन्देब विश्व व्यापारका सबैभन्दा संवेदनशील समुद्री मार्ग हुन् । पश्चिम एशियाबाट एशिया, युरोप र अन्य क्षेत्रतर्फ निर्यात हुने अधिकांश कच्चा तेल, प्राकृतिक ग्यास तथा अन्य वस्तु यही मार्ग हुँदै ओसारपसार हुने भएकाले यहाँको सुरक्षा अवस्था र जहाज आवतजावतले विश्व अर्थतन्त्र, ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ ।