अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबिच भइरहेको वार्ता निकै सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन् ।
पाँच महिनादेखि जारी अमेरिका–इरान युद्ध अन्त्य हुने सम्भावना बढेको संकेत दिँदै ट्रम्पले दुवै पक्षबिच मंगलबार दिनभर चलेको छलफल निकै राम्रो भएको दाबी गरेका छन् । ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा अमेरिका र इरानबिच भएको वार्ताबारे जानकारी दिँदै भनेका छन्– दुवै पक्षले दिनभर वार्ता गरेका छन् र छलफल राम्रो भइरहेको छ । उनले लामो समयदेखि अवरुद्ध रहेको स्ट्रेट अफ होर्मुज पनि छिट्टै खुल्ने विश्वास व्यक्त गरेका छन् ।
ट्रम्पले चेतावनी दिँदै इरान फेरि सम्झौताबाट पछि हटे उसले ठुलो परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका छन् । यसअघि पनि ट्रम्पले इरानसँग सहमति नभए कडा सैन्य कारबाही गर्ने चेतावनी दिँदै आएका थिए । तर विगतका केही चरणका वार्ताहरू कुनै ठोस सम्झौतामा पुग्न सकेका थिएनन् । अमेरिका र इरानबिच सम्भावित सहमतिका खबरसँगै अन्तर्राष्ट्रिय बजारमा सकारात्मक प्रभाव देखिएको छ ।
एसियाली बजारमा सेयर सूचकहरू बढेका छन् भने कच्चा तेलको मूल्य घटेको छ । वाल स्ट्रिटले पनि यसअघि नयाँ कीर्तिमान कायम गरेको थियो । लगानीकर्ताहरूले स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन भए विश्व ऊर्जा आपूर्ति सहज हुने अपेक्षा गरेका छन् ।
समाचार संस्था एक्सियोसले क्षेत्रीय स्रोतहरू र एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अमेरिका र इरान ओमानको सहमतिमा स्ट्रेट अफ होर्मुज पुनः खोल्ने अन्तरिम सम्झौताको नजिक पुगेको जनाएको छ । रिपोर्टअनुसार वासिङ्टनले बुधबारसम्म कुनै घोषणा गर्ने लक्ष्य राखेको छ । तर इरानी सरकारी सञ्चारमाध्यमहरूले भने अमेरिका लगातार धम्की दिइरहेसम्म ओमानसँग स्ट्रेटसम्बन्धी सम्झौता ढिलो हुन सक्ने बताएका छन् । इरानले यसअघि पनि आफूविरुद्धको दबाब र सैन्य धम्की अन्त्य हुनुपर्ने माग गर्दै आएको छ ।
स्ट्रेट अफ होर्मुज विश्वको सबैभन्दा महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्गमध्ये एक हो । सामान्य अवस्थामा विश्वभर ढुवानी हुने करिब पाँच भागमध्ये एक भाग तेल र तरलीकृत प्राकृतिक ग्यास यही मार्ग हुँदै जान्छ । युद्धपछि इरानले यस क्षेत्रमा जहाज आवतजावत सीमित गरेको थियो भने अमेरिकाले इरानसँग सम्बन्धित जहाज र बन्दरगाहमाथि नाकाबन्दी जारी राखेको थियो । कतारले पनि अमेरिका–इरान युद्ध अन्त्य गर्ने प्रयासमा मध्यस्थकर्ताहरूले प्रगति गरिरहेको जनाएको छ । कतारका अमिर कार्यालयका अनुसार राष्ट्रपति ट्रम्प र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच मंगलबार भएको फोन वार्तामा अमेरिका र इरानबिचको मतभेद कम गर्ने तथा दीर्घकालीन समाधान खोज्ने प्रयासबारे छलफल भएको थियो ।
इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले पनि ओमानसँग स्ट्रेट अफ होर्मुजमा जहाज आवतजावत सुरक्षित बनाउने विषयमा भइरहेको वार्ता सकारात्मक रहेको बताएका छन् । उनका अनुसार छलफल सुरक्षित समुद्री मार्ग स्थापना गर्ने विषयमा केन्द्रित छ, जसले इरान र ओमान दुवैको सार्वभौमिक अधिकार तथा राष्ट्रिय सुरक्षालाई ध्यान दिनेछ । इरानले लामो समयदेखि स्ट्रेट अफ होर्मुजमा आफ्नो प्रभाव र नियन्त्रणको अधिकार दाबी गर्दै आएको छ । इरानले यो जलमार्गको व्यवस्थापन ओमानसँग मिलेर गर्नुपर्ने बताउँदै आएको छ । तर गत साता ओमानले प्रस्ताव गरेको संयुक्त निगरानी र जहाजबाट स्वैच्छिक शुल्क उठाउने योजनालाई तेहरानले अस्वीकार गरेको थियो ।
यसैबिच, पश्चिम एशियाली क्षेत्रमा अन्य सुरक्षा चुनौतीहरू पनि जारी छन् । इरान समर्थित यमनका हुथी समूहले लाल सागर क्षेत्रमा साउदी अरबविरुद्ध समुद्री नाकाबन्दी लगाएको बताइएको छ । यसले तेल निर्यातका अन्य मार्गमा समेत दबाब बढाएको छ । यमन नजिक भारतीय झण्डा बोकेको एउटा जहाजमाथि आक्रमण भएको भएपछि डुबेको थियो । भारतीय अधिकारीहरूका अनुसार जहाजमा रहेका १४ जना चालक दलका सदस्यलाई उद्धार गरिएको छ । उक्त आक्रमणको जिम्मेवारीबारे यमनले हुथी समूहलाई दोष दिएको छ ।
संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय सामुद्रिक संगठनका अनुसार फेब्रुअरी २८ मा युद्ध सुरु भएयता स्ट्रेट अफ होर्मुज क्षेत्रमा भएका ६४ वटा घटनामा कम्तीमा १७ जना समुद्री कामदारको मृत्यु भएको छ । इरानी सरकारले पनि अमेरिका र इजरायलले फेब्रुअरी २८ मा युद्ध सुरु गरेयता ३ हजार ४०० भन्दा बढी मानिसको मृत्यु भएको दाबी गरेको छ । इरानका अनुसार अमेरिकी आक्रमणमा हजारौं मानिस प्रभावित भएका छन् । अमेरिकाले भने आफ्ना १८ जना सैन्य कर्मचारीको मृत्यु भएको जनाएको छ ।