भारतमा मनसुनी वर्षा र पहिरोको वितण्डा : जुलाईयता सयभन्दा बढीको मृत्यु

आप्रवासन आप्रवासन

 

भारतमा मनसुनी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण जुलाईदेखि हालसम्म एक सयभन्दा बढी व्यक्तिको ज्यान गएको आधिकारिक तथ्याङ्कले बुधबार देखाएको छ। तथ्याङ्क अनुसार हजारौँ मानिस डुबानका कारण आफ्नो घर तथा आवास छोड्न बाध्य भएका छन्।

वार्षिक मनसुनले ल्याउने वर्षामा किसानहरू निर्भर रहने भए पनि जलवायु परिवर्तनले दक्षिण एसियाली क्षेत्रमा यस्ता घटनालाई अझ अनियमित, अप्रत्याशित र घातक बनाउँदै लगेको चेतावनी वैज्ञानिकहरूले दिएका छन्।

भारतको उत्तरपूर्वी राज्य असम मनसुनी वर्षाबाट सबैभन्दा बढी प्रभावित भएको छ। उक्त राज्यमा कम्तीमा ८७ जनाको मृत्यु भएको मुख्यमन्त्री हिमांता विश्व शर्माले बताएका छन्। राज्यको सबैभन्दा बढी प्रभावित शिवसागर जिल्लामा धेरै क्षेत्रहरू पानीमा डुबेका कारण करिब ४७ जनाको मृत्यु भएको छ।

अधिकारीहरूले राहत र पुनर्वास प्रयासलाई सहयोग गर्न जनतासँग आर्थिक अनुदानका लागि अपिल गरेको शर्माले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन्। उनले भौतिक क्षतिहरू पुनःस्थापित गर्न सकिने तर कुनै पनि क्षतिपूर्तिले परिवारका प्रियजनलाई फर्काउन नसक्ने बताएका छन्। एएफपीले सार्वजनिक गरेका तस्बिरहरूमा बासिन्दाहरूले राज्यको विपद् प्रतिक्रिया अधिकारीहरूको सहयोगमा डुङ्गा प्रयोग गरी अग्लो स्थानतर्फ जाँदै गरेको देखिएको छ।

यस्तै भारतको दक्षिणी राज्य केरलाका मुख्यमन्त्री भिडी सतीसनले केही दिनदेखि परेको भारी वर्षामा कम्तीमा १५ जनाको मृत्यु भएको र अन्य सात जना बेपत्ता भएको जानकारी दिएका छन्। वर्षाका कारण नदीको बहाव बढेपछि नदी किनारमा बसोबास गर्ने १० हजारभन्दा बढी मानिसहरू ३०० भन्दा बढी राहत शिविरहरूमा बसोबास गरिरहेका छन्।

यसैबिच भारतीय मिडियाहरूले वर्षा र बाढीका कारण हिमाली क्षेत्र जम्मू र काश्मीरमा कम्तीमा ३१ जनाको मृत्यु भएको रिपोर्ट गरेका छन्।